विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले आफ्नो कार्यकालको १०० दिन पुरा भएको अवसरमा मन्त्रालयले सम्पादन गरेका १०० वटा मुख्य उपलब्धिहरू सार्वजनिक गरेका छन् । १०० दिनका १०० उल्लेखनीय कार्य शीर्षकमा शुक्रबार सार्वजनिक गरिएको उपलब्धीहरुमा पर्यटन प्रवद्र्धन, वन व्यवस्थापन, जैविक विविधता संरक्षण र सुशासनका क्षेत्रमा गरिएका कार्यहरू समेटिएका छन् ।
मन्त्री पराजुलीको कार्यकालमा पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै कोशी प्रदेशले गण्डकी, मधेश र बागमती प्रदेशसँग पर्यटन प्रवद्र्धनका लागि द्विपक्षीय समझदारी गरेको जनाएको छ । यस्तै पोखरा–विराटनगर सिधा हवाई सेवा र पर्यटकीय बस सञ्चालनका लागि पहल गरिएको छ । साथै, कोशी प्रदेशका पर्यटकीय क्षेत्रलाई रामायण सर्किटसँग जोड्न र चितवनका पर्यटन व्यवसायीहरूसँग मिलेर एकीकृत प्याकेज बनाउन पहल सुरु भएको मन्त्री पराजुलीले जनाएका छन् ।
पर्यटन पूर्वाधारतर्फ ओखलढुंगाको हर्कपुरमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ भने मुन्धुम पदमार्ग, लालिगुराँस पदमार्ग, फाल्गुनन्द र चियाबारी पदमार्ग गरी कुल ४६.९ किलोमिटर पदमार्ग निर्माण तथा मर्मत कार्य सम्पन्न गरिएको छ । मुन्धुम पदमार्गको प्रचारका लागि क्युएफएक्स सिनेमा र बुद्ध एयरको इनफ्लाइट म्यागजिनमार्फत प्रवद्र्धन गरिएको उपलब्धीमा उल्लेख छ ।
यस्तै वन क्षेत्रबाट प्रदेश सरकारले उल्लेखनीय राजस्व संकलन गरेको छ । समग्र वन व्यवस्थापनमार्फत ६ करोड २ लाख ९२ हजार राजस्व संकलन भएको छ भने काठ बिक्रीबाट मात्रै ठुलो रकम संकलन भएको छ । सरकारी र सामुदायिक वनबाट लाखौं क्युबिक फिट काठ र दाउरा उत्पादन गरी आन्तरिक खपत र लिलाम प्रक्रिया अगाडि बढाइएको मन्त्री पराजुलीले जनाए ।
निजी वन प्रवद्र्धनका लागि १ करोड ७ लाख क्युबिक फिट काठ बिक्री वितरण गरिएको छ । धनकुटा र पाँचथरमा स्थायी नर्सरी निर्माण गरी ४० वटा काष्ठजन्य नर्सरी मर्मत गरिएको उपलब्धीमा उल्लेख छ ।
मन्त्री पराजुलीले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन विशेष चासो दिएको जनाएका छन् । यस अवधिमा वन्यजन्तुबाट पीडित १०६६ जनालाई कुल २ करोड १८ लाख २४ हजार रुपैयाँ राहत वितरण गरिएको छ । झापा, मोरङ र सुनसरीमा हात्ती द्वन्द्व न्यूनीकरणका लागि ¥यापिड रेस्पोन्स टिम गठन गरी ड्रोनमार्फत गस्ती गर्ने कार्य सुरु भएको छ । झापा र सुनसरीमा ३३ किलोमिटरभन्दा बढी क्षेत्रमा सोलार फेन्स र सौर्य तारवार मर्मत तथा जडान गरिएको उनले बताए ।
संरक्षणका क्षेत्रमा सन्दकपुरमा रेड पाण्डा महोत्सव र पाँचथरको फालेलुङमा चौरी महोत्सव आयोजनामा मन्त्रालयले सहकार्य गरेको छ । ओखलढुंगामा रेड पाण्डाको सर्वेक्षण र पहिरो नक्साङ्कन सम्पन्न भएको छ । साथै, विभिन्न जिल्लाका सामुदायिक वनहरूमा डढेलो नियन्त्रणका सामग्रीहरू वितरण गरिएको छ ।
वातावरणतर्फ ३३ वटा वातावरणीय अध्ययन प्रतिवेदनहरू स्वीकृत गरिएका छन् । कोशी प्रदेशका १३ स्थानमा सडक पहिरो रोकथाम र १० स्थानमा सिँचाई जलाधार व्यवस्थापनका कार्यहरू सम्पन्न भएको उपलब्धीमा उल्लेख छ ।
मन्त्री पराजुलीको कार्यकालको एक महत्वपूर्ण उपलब्धि भनेको मन्त्रलाय र वन निर्देशनालयको बेरुजु शून्य रहनु हो । यसले वित्तीय अनुशासन र सुशासनलाई झल्काउँछ । मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गरी डिजिटल सुशासनतर्फ पाइला चालेको जनाएको छ ।
आर्थिक वर्ष २०८२–८३ को बजेट कार्यान्वयनतर्फ मन्त्रालयले हालसम्म वित्तीय ३७.९८ प्रतिशत र भौतिक ७२.५ प्रतिशत प्रगति हासिल गरेको छ । मन्त्री पराजुली आफैंले प्रदेशका १२ वटा जिल्लाको अनुगमन र निरीक्षण गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
उक्त कार्यक्रममा मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाले मन्त्रालयले अब परिणाम देखिने गरी, प्रदेशले राजश्व पनि प्राप्त गर्ने ढंगका पर्यटन योजनाहरुमा लगानी गर्ने सोच बनाएको र पर्यटन प्रवद्र्धन र विकासका लागि सरोकारवाला पक्षहरुसमेतको सहयोगमा कार्यक्रम बनाउने तयारी गरेको बताए । उनले स–साना योजनाहरुमा केन्द्रित हुँदा कोशी प्रदेश स्थापनादेखि अहिलेसम्म भएका काम र खर्चको अनुपातमा उपलब्धी कम भएको हो कि भन्ने आशंका गर्नेहरुलाई बल पुगिरहेको भन्दै आगामी वर्षदेखि २५ लाख भन्दा कम बजेटका योजनाहरु मन्त्रालयमा नराखिने र त्यस्तो योजनामा सहयोग गर्नु परेमा स्थानीय तहहरुमै पठाइने बताए ।
मन्त्रालयले पत्रकारहरुसँग झण्डै तीन घण्टा अन्तारक्रिया गरेको थियो । जसमा वन, वातावरण, जलवायु, जलाधार संरक्षण, पर्यटन आदि विविध विषयमा छलफल भएको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।