विराटनगर । नेपाल क्रिकेट फाउन्डेसन र कोशी प्रदेश क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी दोस्रो संस्करणको ‘नेपाल हव पुरुष टी–२० क्रिकेट प्रतियोगिता’ अन्तर्गत बिहीबारका खेलमा राजविराज र सिरहा विजयी भएका छन् ।
विराटनगरको मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको पहिलो खेलमा राजविराज हबले उदयपुर हबलाई ४२ रनले पराजित गर्यो । वर्षाका कारण १० ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङ गरेको राजविराजले ८ विकेट गुमाउँदै ५६ रन बनाएको थियो । राजविराजका रोहन विकले सर्वाधिक २३ रन जोडे । बलिङतर्फ उदयपुरका सविन खड्काले ४ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् । उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो ।
५७ रनको सामान्य लक्ष्य पछ्याएको उदयपुर ७.५ ओभरमा मात्र १४ रनमा समेटियो । उदयपुरका कुनै पनि ब्याटरले ३ रनभन्दा बढी बनाउन सकेनन् । राजविराजका मिथलेश कविर र सुमित इसरले समान ३–३ विकेट लिए ।
दोस्रो खेलमा सिरहा हबले इटहरी हबलाई ४४ रनले हरायो । टस जितेर ब्याटिङ गरेको सिरहाले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाएको थियो । सिरहाका ‘प्लेयर अफ द म्याच’ आयुस विकले ३९ र प्रिन्स यादवले २० रन जोडे । इटहरीका शंकर पाण्डेले ३ तथा स्वर्णिम कँडेल र दिवस विष्टले २–२ विकेट लिए ।
९३ रनको लक्ष्य पछ्याएको इटहरी १५.४ ओभरमा ४८ रनमै अलआउट भयो । इटहरीका निश्चल राईले १३ रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन् । सिरहाका आयुस विक, अभिषेक राय र आलोक यादवले २–२ विकेट लिए ।
जितसँगै अंक तालिकामा विराटनगर ५ अंकसहित शीर्ष स्थानमा छ भने समान ५ अंक रहेको सिरहा नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । ४ अंकसहित राजविराज तेस्रो स्थानमा रहँदा इटहरी र उदयपुर समान १–१ अंकका साथ क्रमश: चौथो र पाँचौँ स्थानमा छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।