लोड हुँदैछ...

मेनु

संखुवासभामा बैंकिङ कसुर र ज्यान मार्ने उद्योगका ३ प्रतिवादी पक्राउ

संखुवासभामा बैंकिङ कसुर र ज्यान मार्ने उद्योगका ३ प्रतिवादी पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय संखुवासभाले फरक–फरक मुद्दामा संलग्न तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले ज्यान मार्ने उद्योग र बैंकिङ कसुर मुद्दाका आरोपीहरूलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको हो।

ज्यान मार्ने उद्योग मुद्दामा खाँदबारी नगरपालिका–४ कोले चोकमा २८ वर्षीय यासिप्पा राईलाई ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा दुई जना पक्राउ परेका छन्। वैशाख १९ गते राति भएको उक्त घटनामा संलग्न उनीहरूलाई प्रहरीले वैशाख २० गते खाँदबारी–१ बाट नियन्त्रणमा लिएको हो। रबिन राईको जाहेरीका आधारमा उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, बैंकिङ कसुर मुद्दाका प्रतिवादी पंकज साहलाई पनि प्रहरीले पक्राउ गरेको छ। सुनसरीको बराहक्षेत्र–१ स्थायी घर भई धरान–१७ बस्ने ३३ वर्षीय साहलाई धरान प्रहरीको समन्वयमा वैशाख २१ गते पक्राउ गरिएको हो। मनोज साहको जाहेरीका आधारमा उनी विरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता भएको थियो।

पक्राउ परेका तीनै जनालाई संखुवासभा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।