लोड हुँदैछ...

मेनु

ओमानमाथि नेपालको ८१ रनको फराकिलो जित

ओमानमाथि नेपालको ८१ रनको फराकिलो जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार सम्पन्न खेलमा आयोजक नेपालले भ्रमणकारी टोली ओमानलाई ८१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको यस खेलसँगै लिग–२ को १७औँ शृंखला पनि समाप्त भएको छ ।

यो शृंखलामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै तीन खेल जितेर सर्वाधिक ६ अंक बटुल्न सफल भयो । शृंखलामा संयुक्त अरब इमिरेट्स ९यूएई० ले चार अंक जोड्यो भने ओमानले दुई अंकमा चित्त बुझाउनुपर्‍यो । नेपाली टोलीले लिग–२ को अर्को शृंखला पनि घरेलु मैदानमै खेल्ने तय भएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउनुअघि २५६ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट ब्याटिङ गरे पनि उनी मात्र ६ रनले आफ्नो दोस्रो एकदिवसीय (ओडीआई) शतक बनाउनबाट चुके । ९७ बलको सामना गरेका उनले ५ छक्का र ७ चौकाको मद्दतले ९४ रन बनाए । यसै खेलका क्रममा आसिफ ओडीआई क्रिकेटमा १८०० रन पूरा गर्नबाट मात्र ३ रनले पछि परे । उनको यो ६६औँ खेलमा १४औँ अर्धशतक हो ।

आसिफले दोस्रो विकेटका लागि युवा ब्याट्सम्यान अर्जुन कुमालसँग १२३ रनको बलियो साझेदारी गरे । आफ्नो दोस्रो अन्तर्राष्ट्रिय खेल खेलिरहेका २० वर्षीय अर्जुन पनि व्यक्तिगत अर्धशतक बनाउनबाट मात्र २ रनले चुके । उनले ८७ बलमा ४ चौका प्रहार गर्दै ४८ रन बनाए । गत वैशाख १८ गते यूएईविरुद्ध डेब्यु गरेका अर्जुनले पहिलो खेलमा ११ रन बनाएका थिए ।

मध्यक्रममा दीपेन्द्रसिंह ऐरीले ४२ बलमा ३३ रनको योगदान दिए । यो शृंखलामा उत्कृष्ट लयमा रहेका दीपेन्द्रले अघिल्ला तीन खेलमा क्रमशः ७५, ६० र १०० रन बनाएका थिए । अन्त्यतिर आरिफ शेखले विस्फोटक ब्याटिङ गर्दै केवल २४ बलमा ४ छक्का र १ चौकाको मद्दतले ४३ रन जोडे । उनले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गरेका थिए । यस्तै, गुल्सन झाले १७ रन जोडे ।

नेपालका ओपनर विनोद भण्डारी शून्यमै आउट भए भने कप्तान रोहित पौडेलले ९ रन मात्र बनाउन सके । करण केसी शून्य, नन्दन यादव २ र सन्दीप लामिछाने १ रनमा आउट भए । ओमानका लागि नदिम खानले ३, सकिल अहमद र हसनैन शाहले २–२ तथा जितेन रामानन्दी र आर्यन बिष्टले १–१ विकेट लिए ।

२५७ रनको मध्यम लक्ष्य पछ्याएको ओमान नेपाली बलरहरूको कसिलो बलिङका सामु ३९।५ ओभरमा १७५ रनमै समेटियो । नेपालका तीव्र गतिका बलर गुल्सन झा खेलको नायक बने । उनले ९ ओभरमा ३८ रन खर्चेर महत्त्वपूर्ण ५ विकेट (पञ्जा) लिए । करण केसी, नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १–१ विकेट बाँडे ।

ओमानका लागि विकेटकिपर विनायक शुक्लाले सर्वाधिक ३६ रन बनाए । यस्तै हमाद मिर्जाले ३४, ओपनर हसनैन वाहबले २९ र कप्तान जतिन्दर सिंहले १२ रन जोडे । नेपालले अतिरिक्त रूपमा १६ रन दिएको थियो ।

किर्तिपुर मैदानमा नेपाल र ओमानबीच हालसम्म पाँचवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा ओमानले तीन र नेपालले दुई खेलमा जित हात पारेका छन् । यो जितसँगै नेपालले घरेलु मैदानमा आफ्नो दबदबा कायम राख्दै शृंखलाको सुखद अन्त्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।