लोड हुँदैछ...

मेनु

आसिफको ९४ रनमा नेपालद्वारा ओमानलाई २५७ रनको चुनौती

आसिफको ९४ रनमा नेपालद्वारा ओमानलाई २५७ रनको चुनौती

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले ओमानलाई जितका लागि २५७ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रनमा समेटिएको हो।

नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै ९७ बलमा पाँच छक्का र सात चौकाको मद्दतले ९४ रन बनाए। उनी केवल ६ रनले शतक बनाउनबाट चुके। २४ वर्षीय आसिफ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार आठ सय रन पूरा गर्नबाट पनि तीन रनले टाढा रहे। उनले आफ्नो करिअरको १४औँ अर्धशतक बनाएका हुन्।

आसिफले दोस्रो विकेटका लागि युवा ब्याट्सम्यान अर्जुन कुमालसँग १२३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। अर्जुनले ८७ बलमा चार चौकाको सहयोगमा ४८ रन बनाउँदै अर्धशतकबाट दुई रनले चुके। अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको दोस्रो खेल हो।

नेपालका अनुभवी ओपनर विनोद भण्डारी भने खाता नखोली आउट भए। कप्तान रोहित पौडेलले १६ बलमा ९ रन मात्र जोड्न सके। पाँचौँ नम्बरमा आएका दीपेन्द्रसिंह ऐरीले ४२ बलमा ३३ रन बनाए। जारी शृंखलामा उनी लगातार राम्रो लयमा देखिएका छन्।

मध्य र अन्तिम क्रममा आरिफ शेखले आक्रामक ब्याटिङ गर्दै २४ बलमा चार छक्का र एक चौकासहित ४३ रन बनाए। उनले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै नेपालको स्कोर उकास्न महत्वपूर्ण भूमिका खेले। गुलशन झाले २३ बलमा १७ रन जोडे।

अन्य खेलाडीहरूमा करण केसी पहिलो बलमै बोल्ड भए भने नन्दन यादव २ रन र सन्दीप लामिछाने १ रनमा आउट भए। ललित राजवंशी भने शून्य रनमा अविजित रहे।

ओमानका बलरमध्ये नदिम खानले तीन विकेट लिए। सकिल अहमद र हसनैन शाहले दुई–दुई विकेट लिए भने जितेन रामानन्दी र आर्यन बिष्टले एक–एक विकेट हात पारे।

कीर्तिपुर मैदानमा नेपाल र ओमानबीचको यो पाँचौँ एकदिवसीय अन्तर्राष्ट्रिय भेट हो। यसअघि भएका चार खेलमध्ये तीनमा ओमान विजयी भएको छ भने एक खेल नेपालले जितेको छ। यसअघि यही शृंखलामा भएको भेटमा ओमानले वर्षाले प्रभावित खेलमा ‘डकवर्थ–लुइस’ विधिका आधारमा नेपाललाई हराएको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।