लोड हुँदैछ...

मेनु

रोशी खोलामा ज्यान जोखिममा पार्ने ५ चालक पक्राउ, ८९ यात्रुको ९ घण्टापछि सकुशल उद्धार

रोशी खोलामा ज्यान जोखिममा पार्ने ५ चालक पक्राउ, ८९ यात्रुको ९ घण्टापछि सकुशल उद्धार

विराटनगर । बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी खोलामा आएको बाढीमा फसेका ८९ जना यात्रुको ९ घण्टा लामो प्रयासपछि सकुशल उद्धार गरिएको छ । सोमबार साँझ ५ बजेदेखि बाढीको बिचमा फसेका ५ वटा हायस र इभी गाडीका यात्रुहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले राफ्टिङ बोट प्रयोग गरी राति अबेर उद्धार गरेको हो ।

प्रहरीका अनुसार जोखिमपूर्ण मौसममा सुरक्षाकर्मीको आग्रहलाई अटेर गरी जबरजस्ती गाडी अगाडि बढाउँदा यात्रुहरूको ज्यान जोखिममा परेको हो । यात्रुको सुरक्षामा खेलबाड गरेको आरोपमा प्रहरीले पाँचै वटा गाडीका चालकहरूलाई नियन्त्रणमा लिएको छ । अविरल वर्षाले अस्थायी डाइभर्सन बगाउँदा काठमाडौँतर्फ आउँदै गरेका ती सवारी साधनहरू खोलाकै बिच भागमा अड्किएका थिए ।

गत असोजमा आएको ठुलो बाढीले बीपी राजमार्ग क्षतविक्षत बनाएपछि अहिले रोशी खोलाको किनारबाट अस्थायी सडक निर्माण गरी यातायात सञ्चालन भइरहेको छ । यद्यपि, सामान्य वर्षा हुँदा समेत यो खण्डमा यात्रा अत्यन्तै जोखिमपूर्ण बन्ने गरेको छ । उद्धार गरिएका यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ भने बाढीमा फसेका गाडीहरू अझै खोलामै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।