लोड हुँदैछ...

मेनु

नेपाल हव टी-२० क्रिकेट : विराटनगर र सिरहाको विजयी सुरुवात

नेपाल हव टी-२० क्रिकेट : विराटनगर र सिरहाको विजयी सुरुवात

विराटनगर । विराटनगरमा दोस्रो संस्करणको ‘नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिता’ सोमबारदेखि भव्य रूपमा सुरु भएको छ। नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा मेरिलेबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलहरूमा विराटनगर हव र सिरहा हव विजयी भएका छन्।

विराटनगरको सानदार जित
दिनको पहिलो खेलमा विराटनगर हवले राजविराज हवमाथि ८ विकेटको फराकिलो जित निकाल्यो। टस जितेर ब्याटिङ रोजेको राजविराजले १५ ओभरमा छोट्याइएको खेलमा १४.२ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन मात्र बनाउन सक्यो। राजविराजका लागि रोहन विकले २० र निवेश मण्डलले १२ रन जोडे। विराटनगरका अभय कामतले घातक बलिङ गर्दै ४ विकेट लिएपछि राजविराज सस्तैमा समेटिएको थियो। प्लेयर अफ द म्याच अभयलाई अरुण मण्डल र विकास कामतले २–२ विकेट लिएर साथ दिए।

५७ रनको सामान्य लक्ष्य विराटनगरले मात्र ६.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। विराटनगरका मनिष कामतले अविजित ३७ रन र आकाश यादवले १२ रनको योगदान दिए।

सिरहाद्वारा उदयपुर पराजित
दोस्रो खेलमा सिरहा हवले उदयपुर हवलाई ३६ रनले पराजित गर्दै सुखद सुरुवात गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९१ रन बनाएको थियो। सिरहाका लागि प्लेयर अफ द म्याच आलोक यादवले अविजित २३ रन र दुर्गेश मण्डलले १६ रन बनाए। उदयपुरका देवेन दासले २ विकेट लिए।

९२ रनको लक्ष्य पछ्याएको उदयपुर १८.१ ओभरमा ५५ रनमै अलआउट भयो। उदयपुरका सौरभ पौडेलले २६ रन बनाए पनि अन्य ब्याट्सम्यान टिक्न सकेनन्। बलिङतर्फ सिरहाका आयस विक र अभिषेक राँयले समान २–२ विकेट लिए।

यही वैशाख २६ गतेसम्म चल्ने यस प्रतियोगितामा कोशी प्रदेशबाट मोरङ, सुनसरी र उदयपुर तथा मधेस प्रदेशबाट सिरहा र राजविराज गरी ५ वटा टोली सहभागी छन्। राउण्ड रोविन लिगको आधारमा खेलाईने यस प्रतियोगिताका उत्कृष्ट दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।