विराटनगर । भारतले लिपुलेक क्षेत्रमा नेपालले गर्दै आएको भौगोलिक दाबीलाई औपचारिक रूपमा अस्वीकार गरेको छ। नेपाली भूभाग लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने मार्ग सञ्चालन गर्ने विषयमा नेपाल सरकारले पठाएको कूटनीतिक नोटको जवाफ दिँदै भारतले नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको टिप्पणी गरेको हो।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो र स्थायी मार्ग भएको स्पष्ट पारेका छन्। उनले यस मार्गको प्रयोग कुनै नयाँ विकासक्रम नभएको उल्लेख गर्दै नेपालको पछिल्लो अडानप्रति असहमति जनाएका छन्।
नेपालले उक्त क्षेत्र आफ्नो भएको दाबी गर्दै कूटनीतिक नोट पठाएको केही घण्टामै भारतको यस्तो प्रतिक्रिया आएको हो। भारतीय विदेश मन्त्रालयले नेपालको दाबीलाई ‘एकतर्फी’ र ‘कृत्रिम विस्तार’ को संज्ञा दिँदै भनेको छ, “नेपालले गरेका क्षेत्रीय दाबीहरू न त न्यायोचित छन्, न त ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छन्। यस्तो एकतर्फी क्षेत्रीय विस्तार मान्य हुन सक्दैन।”
यद्यपि, भारतले सीमासम्बन्धी विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने संकेत भने दिएको छ। विज्ञप्तिमा भनिएको छ, “नेपालसँगको द्विपक्षीय सम्बन्धका सबै विषयमा, विशेष गरी सीमा विवाद समाधानका लागि संवाद र कूटनीति मार्फत रचनात्मक छलफल गर्न भारत सधैँ तयार छ।”
नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि यो क्षेत्र दुई देशबीचको कूटनीतिक विवादको मुख्य केन्द्र रहँदै आएको छ। भारतको पछिल्लो जवाफले लिपुलेक क्षेत्रमा उसको अडान यथावत रहेको पुष्टि गरे पनि संवादको बाटो खुल्ला राख्नुलाई दुई देशबीचको सम्बन्ध सन्तुलित राख्ने प्रयासका रूपमा हेरिएको छ।
यसअघि, भारत र चीनबीच लिपुलेक हुँदै मार्ग खोल्ने विषयमा भएको सहमतिप्रति आपत्ति जनाउँदै नेपालको परराष्ट्र मन्त्रालयले दुवै छिमेकी मुलुकलाई कूटनीतिक नोट पठाएर ध्यानाकर्षण गराएको थियो।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।