विराटनगर । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले सरकारको पछिल्लो कार्यशैली र दमनकारी कदममाथि कडा व्यङ्ग्य प्रहार गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले सरकारले बिना योजना जनताका बस्तीमा डोजर चलाएको र मानवीयता बिर्सेर शासन गरिरहेको आरोप लगाएका हुन्।
सरकारका हरेक विवादास्पद कदमको बचाउ गर्नेहरू र अन्धभक्तहरूलाई लक्षित गर्दै बास्कोटाले लेखेका छन्, “सुकुम्बासीको छोरो बाहेक (रास्वपाका सांसद केपी खनालतर्फ संकेत गर्दै) सबैको घरमा डोजर चलाउ सरकार, जनता तिम्रो साथ छ! अव्यवस्थित बस्तीमा आगो लगाउ सरकार, जय गान गाउन जनता तयार छ!”
हजारौं नागरिकलाई विस्थापित गर्ने गरी बिना विकल्प सुकुम्बासी बस्तीमा डोजर लगाइएको घटनाको विरोध गर्दै उनले यसलाई ‘दमनचक्र’ को संज्ञा दिएका छन्। सरकारले देखाएको यस्तो उग्रतामा पनि ताली बजाउनेहरूमा न्यूनतम मानवीय संवेदना समेत नरहेको उनको आशय छ।
त्यस्तै, दुई तिहाइको शक्तिशाली सरकारले संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै उनले कटाक्ष गरेका छन्। बास्कोटाले व्यङ्ग्यात्मक शैलीमा थपेका छन्, “अध्यादेशको थुप्रो लाउ, विपक्षीको सातो उडाउ! मेरो माग है हजुर, अरु केही मागिएन।”
सरकारको अदूरदर्शी निर्णय र राज्यशक्तिको दुरुपयोगले नागरिकलाई सास्ती भइरहेको बेला बास्कोटाको यो टिप्पणीलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारले लोकतान्त्रिक मूल्य र जनभावना विपरीत काम गरिरहेको भन्दै उनले तीखो शब्दमार्फत आफ्नो असन्तुष्टि पोखेका हुन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।