विराटनगर। आगामी वैशाख २२ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनावी मैदानमा कोशी प्रदेशको ‘व्यापारिक हब’ विराटनगरले आफ्नो वर्चस्व देखाएको छ। प्रदेशभरिबाट करिब दुई दर्जन आकांक्षी चुनावी रापमा होमिँदा प्रदेश राजधानी विराटनगरबाट दुई प्रभावशाली हस्तीहरूले केन्द्रमा हस्तक्षेपकारी उपस्थितिको संकेत दिएका छन्।
एसोसिएट्स सदस्यतर्फ विराटनगरका दुई पूर्व अध्यक्षहरू सुयश प्याकुरेल र अविनाश बोहोराले उम्मेदवारी दिएर चुनावी माहोल तताएका छन्। उद्योग संगठन मोरङका पूर्व अध्यक्ष प्याकुरेल र मोरङ व्यापार संघका पूर्व अध्यक्ष बोहोरा दुवै व्यवसायिक एजेन्डामा प्रखर र तार्किक मानिन्छन्। हाल महासंघका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सल्लाहकार रहेका बोहोरा विराटनगरमा आठ दशकदेखि स्थापित ‘बोहोरा ग्रुप’ का संचालक हुन्, जसको व्यवसाय खाद्यान्न, तेल र निर्माण क्षेत्रसम्म फैलिएको छ।
त्यस्तै, प्याकुरेल प्लास्टिक उद्योगमा एक स्थापित नाम हुन्। हेटौंडा र विराटनगरमा ‘एमएम प्लास्टिक’ संचालन गरिरहेका उनी बैंकिङ (सिटिजन बैंक), मनोरञ्जन (सिटी सिनेमा) र ‘बन्जारा एग्रो’ मार्फत आधुनिक कृषिमा समेत सक्रिय छन्। उनको परिचय केवल उद्योगीमा मात्र सीमित छैन; ‘विराटनगर किंग्स’ मार्फत उनले खेलकुदमा पनि विराटनगरको झण्डा उठाएका छन्।
विराटनगरले एसोसिएट्समा आफ्नो बलियो आधार बनाइरहँदा जिल्लानगर उपाध्यक्षमा झापाका उमेश डालमियाले अन्य उम्मेदवारहरू राजु न्यौपाने, प्रयास कार्की (उदयपुर) र गोकुल श्रेष्ठ (दमक) सँग प्रतिस्पर्धा गर्दैछन्। संस्थापक संघतर्फबाट टीकाराम ढकाल (झापा) र गोपाल श्रेष्ठ (धरान) चुनावी मैदानमा उत्रिएका छन्।
प्रदेशको प्रतिनिधित्व गर्ने अन्य केन्द्रीय सदस्यका लागि पनि प्रतिस्पर्धा कडा छ। सुनसरीका वीरेन्द्र साह र जीवन पराजुली, मोरङका दीपक बस्नेत, झापाका जीबी कार्की, इलामका ईश्वर चिपालु र उदयपुरका रमेश रसाइली चुनावी दौडमा छन्। त्यस्तै, १५ केन्द्रीय सदस्यका लागि पाँचथरका दीपक नेपाल र बिर्तामोडका व्यवसायीहरूले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्।
समग्रमा, यसपटकको महासंघ निर्वाचनमा विराटनगरका बौद्धिक व्यवसायीहरूको नेतृत्वले सिंगो कोशी प्रदेशकै व्यवसायिक आवाजलाई केन्द्रमा बुलन्द बनाउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।