विराटनगर । विराटनगर विमानस्थलबाट प्रहरीले ठूलो परिमाणमा नगदसहित दुई जनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको २७ लाख रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा एक जना नेपाली र अर्का भारतीय नागरिक छन् । उनीहरु फरक फरक उडान मार्फत काठमाडौं जान लागेको बेलामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले शुक्रबार बेलुका करिब ८ बजे बुद्ध एयरको उडानबाट काठमाडौँ प्रस्थान गर्न लागेका सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १८ का ३५ वर्षीय दिलीप तामाङलाई ११ लाख नेपाली रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । उनले उक्त रकमको स्रोत खोल्न सकेका थिएनन् ।
यस्तै शनिबार दिउँसो ३ः३५ बजेतिर श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौँ जान लागेका भारतीय नागरिक ३६ वर्षीय मोहिदिल अलिलाई प्रहरीले पक्राउ गरेको थियो । भारतको मालदह जिल्ला सुजागञ्जका बासिन्दा अलिको झोला चेकजाँच गर्दा प्रहरीले १५ लाख ९८ हजार रुपैयाँ फेला पारेको थियो।
प्रहरीले दुवै जनाबाट जम्मा २६ लाख ९८ हजार रुपैयाँ बरामद गरेको छ। पक्राउ परेका तामाङ र अलि दुवैलाई बरामद गरिएको रकमसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।