विर्तामोड । झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को चैत मसान्तसम्म १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको छ।
कार्यालयले वार्षिक लक्ष्यको ६९ दशमलव ८३ प्रतिशत राजश्व संकलन गरेको जानकारी दिएको छ ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवका लागि १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको छ। चैत महिनामा मात्र एक अर्ब ६० करोड ६८ लाख ४७ हजार राजश्व संकलन भएको र यो मासिक लक्ष्यको ९४ दशमलव ६९ प्रतिशत रहेको उनले जानकारी दिए।
कार्यालयका तथ्याङ्कअनुसार साउन महिनामा एक अर्ब २६ करोड ५० लाख ७९ हजार, भदौमा एक अर्ब ३६ करोड ४४ लाख ३९ हजार, असोजमा एक अर्ब ५२ करोड २४ लाख ९१ हजार र कात्तिकमा एक अर्ब ३० करोड ८१ लाख ८९ हजार राजश्व संकलन भएको छ। त्यसैगरी मङ्सिरमा एक अर्ब ३६ करोड ७४ हजार, पुसमा एक अर्ब ५८ करोड ८९ लाख २४ हजार, माघमा एक अर्ब ४७ करोड ८८ लाख ५७ हजार र फागुनमा एक अर्ब ६५ करोड ८० लाख चार हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।