लोड हुँदैछ...

मेनु

दीपेन्द्रको सानदार शतकमा यूएईलाई नेपालले दियो २९० रनको लक्ष्य

दीपेन्द्रको सानदार शतकमा यूएईलाई नेपालले दियो २९० रनको लक्ष्य

विराटनगर । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले यूएईसमक्ष २९० रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार टस जितेर ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट शतकीय इनिङ्स खेले।

उनले ९४ बलमा १३ चौका र एक छक्कासहित शतक पूरा गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए। जारी शृंखलामा ऐरीले यसअघि यूएईविरुद्ध ७५ रन र ओमानविरुद्ध ६० रन बनाउँदै लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

नेपाली टिमका उपकप्तान रहेका २६ वर्षीय ऐरीको एकदिवसीय अन्तर्राष्ट्रिय करिअरमा यो दोस्रो शतक हो । उनले सात अर्धशतक पनि पूरा गरिसकेका छन्।

आजको खेलमा ओपनर विनोद भण्डारीले ५६ रन बनाउँदै राम्रो सुरुआत दिलाए भने कप्तान रोहित पौडेलले ३९ रन जोडे। डेब्यु खेलिरहेका अर्जुन कुमाल र आरिफ शैखले समान ११–११ रन बनाए।

सातौँ नम्बरमा आएका गुलशन झाले डेथ ओभरमा आक्रामक ब्याटिङ गर्दै ४४ रनको महत्वपूर्ण योगदान दिए। अन्य खेलाडीमध्ये भीम सार्की र सोमपाल कामीले उल्लेखनीय योगदान गर्न सकेनन्।

दीपेन्द्रको शतक, विनोदको अर्धशतक र अन्तिमक्रममा गुलशनको आक्रामक इनिङ्सको मद्दतमा नेपालले प्रतिस्पर्धात्मक लक्ष्य खडा गरेको हो।

यूएईका जुनैद सिद्दिकी र अजय कुमारले २–२ तथा खुजैमा बिन तन्वीर र हैदर अलीले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।