लोड हुँदैछ...

मेनु

शुक्रबार ओपीडी खुल्ला गर्ने मन्त्रालयको निर्देशन कागजमै सीमित

शुक्रबार ओपीडी खुल्ला गर्ने मन्त्रालयको निर्देशन कागजमै सीमित

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अटेर गरेको छ ।

मन्त्रालयले सार्वजनिक बिदाका दिन भएपनि शुक्रबार ओपिडी (बहिरङ्ग) सेवा सञ्चालन गर्न देशभरकार सरकारी अस्पताललाई निर्देशन दिएको थियो ।

लगातारको सार्वजनिक बिदाका कारण स्वास्थ्य संस्थामा उपचार गराउन आउने बिरामीहरू प्रभावित हुने भन्दै स्वास्थ्य मन्त्रालयले बिहीबार सूचना प्रकाकशित गर्दै शुक्रबार ओपिडी सेवा सञ्चालनका लागि निर्देशन दिएको थियो । तर, कोशी अस्पताल विराटनगरले त्यो निर्देशनको अवज्ञा गर्दा आफूहरू मारमा परेको ओपिडी सेवाका लागि अस्पताल आइपुगेकाहरूले गुनासो गरेका छन्।

मन्त्रालयको यस्तो निर्देशनको कारण ओपीडी सेवा खुला हुने अपेक्षामा विरामीहरु शुक्रबार अस्पताल पुगेका थिए । तर, अस्पतालमा सेवा सञ्चालन नभएको कारण बिरामीहरू फर्किन बाध्य भए । बिदाका दिन पनि ओपिडी सञ्चालन हुने सरकारको सूचना हेरेर अस्पताल पुगेकी विराटनगर–४ की रमिता श्रेष्ठ त्यसै फर्कन बाध्य भएकी थिइन् ।

कोशी अस्पतालमा दैनिक १५ सयभन्दा बढी बिरामी ओपिडी सेवा लिन आउने गरेका छन्। सरकारले आइतबार पनि सार्वजनिक विदा दिएपछि अन्य दिन बिरामीको थेगिनसक्नु भिड हुने गरेको छ ।

अस्पतालका सूचना अधिकारी गजेन्द्र यादवका अनुसार सरकारले राजपत्रमा सार्वजनिक बिदा घोषणा गरेकोले शुक्रबार ओपिडी सेवा सञ्चालन नगरिएको हो। शनिवार र आइतबार सार्र्वजनिक विदा हो भने शुक्रबार बुद्धजयन्ती तथा मजदुर दिवस भएकोले विदा हो ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामनारायण चौधरीले मन्त्रालयबाट औपचारिक निर्देशन समयमै नआएको कारण यस्तो समस्या भएको दाबी गरेका छन् । ओपिडी सञ्चालन गर्नुपर्ने जानकारी शुक्रवार बिहान मात्र प्राप्त भएको र धेरै डाक्टरहरू अघिल्लो दिन नै बाहिर गइसकेकोले सेवा सञ्चालन गर्न नसकेको उनको भनाइ छ ।

अर्कोतिर सार्वजनिक विदाको दिन ओपिडी सञ्चालन गर्न प्राबिधिकक समस्या पनि रहेको अस्पतालले जनाएको छ । ‘ओपीडी टिकट काट्न बैंकका कर्मचारी चाहिन्छ । तर, बिदामा उनीहरू उपलब्ध हुँदैनन्’ मेसु चौधरीले भने ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा.भक्तबहादुर केसीले अस्पतालहरूले मन्त्रालयको निर्देशन पालना गर्नुपर्ने बताएका छन्। लगातार बिदाका कारण सेवा अवरुद्ध हुन सक्ने भएकाले बिदाका दिन पनि ओपिडी सञ्चालन गर्न निर्देशन दिइएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।