विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन पनि अस्पतालका ओपिडी (बहिरङ्ग) सेवा सञ्चालन गर्न दिएको निर्देशनलाई नेपाल चिकित्सक संघले अस्वीकार गरेको छ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा बुद्ध जयन्तीको सार्वजनिक बिदाको दिन (भोलि १८ वैशाख) देशभरका सरकारी अस्पतालहरूमा ओपिडी सेवा सञ्चालन गर्न मन्त्रालयले गरेको अनुरोधप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयको उक्त निर्णय ‘अव्यवहारिक र अवैज्ञानिक’ भएको भन्दै विरोध जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, “अहोरात्र सेवामा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पनि श्रमिक नै हुन्। अन्तर्राष्ट्रिय मान्यता प्राप्त श्रमिक दिवसको बिदाको दिनमा समेत ओपिडी सेवा सञ्चालन गर्न खोज्नु चिकित्सकहरूमाथि ठुलो अन्याय हो।”
संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अस्पतालमा इमर्जेन्सी लगायतका अत्यावश्यक सेवाहरू बिदाको दिनमा पनि निरन्तर रहने भए तापनि ओपिडी सेवा अत्यावश्यक सेवा अन्तर्गत नपर्ने उल्लेख छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिदाका दिन अन्य पेशाकर्मीले जस्तै चिकित्सकहरूले पनि बिदा पाउनुपर्ने संघको अडान छ।
नेपाल चिकित्सक संघले मन्त्रालयलाई आफ्नो निर्णय अविलम्ब फिर्ता लिन आग्रह गर्दै १८ गते ओपिडी सेवा बन्द राखेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको बिदा कायम गर्न जोडदार माग गरेको छ। मन्त्रालयले सोमबार अबेर राती मात्र बिदाको दिन ओपिडी खोल्ने निर्णय सार्वजनिक गरेको थियो।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।