विराटनगर । नेपाल उद्योग परिसंघले आगामी वैशाख २१ गते विराटनगरमा राष्ट्रिय स्तरको महिला नेतृत्व सम्मेलन २०२६ आयोजना गर्ने भएको छ।
उक्त सम्मेलन कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासँगको सहकार्यमा आयोजना हुन लागेको हो। बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले सम्मेलनलाई नेपाल उद्योग परिसंघ महिला नेतृत्व मञ्च काठमाडौं र कोशी प्रदेश महिला उद्यम समितिले संयुक्त रूपमा संयोजन गर्ने जानकारी दिएको छ।
“दिगो समृद्धितर्फ कृषि, सीप, सृजनशीलता र डिजिटल नवप्रवर्तन” भन्ने नारासहित आयोजना हुने सम्मेलनमा आर्थिक, औद्योगिक, बैंकिङ, राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहनेछ।
सम्मेलनमा महिला नेतृत्व विकास, क्षमता अभिवृद्धि, स्थानीय कृषि तथा उद्यमशीलता प्रवर्द्धन तथा डिजिटल नवप्रवर्तनका विषयमा विस्तृत छलफल हुने आयोजकले जनाएको छ।
सफल महिला उद्यमीहरूको प्रेरणादायी अनुभव तथा डिजिटल प्रविधि सम्बन्धी छलफल पनि कार्यक्रममा समेटिनेछ। साथै स्वदेशी वस्तुहरूको प्रदर्शनीसमेत गरिनेछ।
कार्यक्रममा नीति निर्माता, निजी क्षेत्रका प्रतिनिधि तथा विकास साझेदारबीच नेटवर्किङलाई विशेष महत्व दिइने बताइएको छ।
आयोजकका अनुसार यस सम्मेलनले समावेशी आर्थिक वृद्धि र दिगो समृद्धिको मार्ग तय गर्न सहयोग गर्ने तथा महिला उद्यमीहरूलाई नयाँ अवसर खोज्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।