लोड हुँदैछ...

मेनु

मोरङका दुई क्रसर बन्दः पूर्वपश्चिम राजमार्ग कालोपत्रे गर्ने काम रोकियो

मोरङका दुई क्रसर बन्दः पूर्वपश्चिम राजमार्ग कालोपत्रे गर्ने काम रोकियो

विराटनगर । मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा उद्योग बन्द भएपछि पूर्व–पश्चिम राजमार्ग विस्तारको काम समेत प्रभावित भएको छ ।

प्रशासनले लेटाङ नगरपालिकामा कालिका कन्ट्रक्सनले सञ्चालन गरेको क्रसर र बेलबारी नगरपालिका अन्तरगत पर्ने चिसाङ खोलामै अम्बिका गुरागाईंले सञ्चालन गरेको कान्तिपुर क्रसर उद्योग बन्द गराएको हो ।

कालिका कन्ट्रक्सनले सडक निर्माणका लागि आवश्यक ‘अस्फाल्ट’ (गिटी र अलकत्राको मिश्रण) उत्पादन गर्दै आएको थियो । उक्त उद्योग कन्ट्रक्सनले निर्माण अवधिभर निर्माण सामग्री र अस्फाल्ट उत्पादन गर्न सम्झौता गरी करारमा लिएको बताइएको छ । उद्योग बन्द हुँदा दैनिक ५०० मिटर सडक कालोपत्रे गर्ने काम ठप्प भएको उद्योगका प्रतिनिधि उज्ज्वल प्रसाईंले बताए । उनका अनुसार दैनिक ८०० घनमिटर अस्फाल्ट उत्पादन रोकिएको छ, जसको बजार मूल्य प्रतिघनमिटर करिब ३ हजार रुपैयाँ पर्दछ ।

जिल्ला प्रशासन कार्यालयले दुवै उद्योगबाट बिल भर्पाइ र आर्थिक कारोबारका कागजात नियन्त्रणमा लिएको छ । विस्तृत वातावरणीय प्रभाव मूल्याङ्कन विना नै उत्खनन गरेको र वास्तविक बिक्री मूल्यभन्दा आधा कम देखाएर बिल काट्ने गरेको सूचनाका आधारमा प्रशासनले छानबिन सुरु गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले उद्योगका बारेमा धेरै उजुरी परेकाले कागजात नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । प्रशासनले आर्थिक अनियमितता र मापदण्ड उल्लंघनको पाटो केलाउन राष्ट्रपति चुरे संरक्षण कार्यालय मोरङका प्रमुखको नेतृत्वमा सात सदस्यीय प्राविधिक छानबिन समिति समेत गठन गरेको छ ।

प्रशासनले नियमविपरीतका उद्योगमाथि कडाइ गर्ने नियमित प्रक्रियाअन्तर्गत यो कदम चालेको जनाए पनि सडक विस्तार जस्तो राष्ट्रिय गौरवको आयोजनामा प्रयोग हुने कच्चा पदार्थ रोकिएपछि निर्माण पक्ष भने दबाबमा परेको छ । हाल राजमार्गको अन्य काम सुचारु रहे पनि कालोपत्रे गर्ने मुख्य कार्य भने सामग्री अभावमा रोकिएको छ ।

यसैबिच केही दिनअघि मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले जथाभावी खोला उत्खनन् गरेको, मापदण्डविपरित क्रसर सञ्चालन गरेको, स्थानीयलाई धूलो र धुँवाका कारण सास्ती दिएको र गुनासो गर्दा गुण्डा लगाएर त्रसित बनाउने गरेको गुनासो आफूलाई आएको भन्दै क्रसर सञ्चालक भीम पौडेललाई टेलिफोन गरी छलफलका लागि बोलाउनुभएको थियो । यद्यपि पौडेलले भने उक्त क्रसर अहिले आफूले सञ्चालन नगरेको बरु कालिका कन्ट्रक्सनले चलाइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।