काठमाडौं । अमेरिकाले इरानविरुद्ध लगाएको सामुद्रिक नाकाबन्दी लम्ब्याउने संकेत सार्वजनिक गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सन् २०२२ यताकै उच्च बिन्दुमा पुगेको छ।
विश्वबजारमा मानक मानिने ब्रेन्ट क्रूडको मूल्य प्रतिब्यारेल १२० अमेरिकी डलर नाघ्दै केही समयका लागि १२२ डलरसम्म पुगेको जनाइएको छ। फेब्रुअरी अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता तेलको मूल्य निरन्तर उकालो लागिरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाह र ढुवानीमाथिको नाकाबन्दी महिनौँसम्म लम्ब्याउने सम्भावनाबारे ऊर्जा क्षेत्रका कार्यकारीहरूसँग छलफल गरेपछि बजारमा थप चिन्ता बढेको हो। यसलाई होर्मुज जलमार्ग लामो समयसम्म अवरुद्ध रहने संकेतका रूपमा लिइएको छ।
विश्वको झण्डै २० प्रतिशत पेट्रोलियम पदार्थ सामान्य अवस्थामा यही जलमार्ग हुँदै ढुवानी हुने भएकाले आपूर्ति प्रभावित हुने डरले मूल्यमा तीव्र वृद्धि भएको विश्लेषण गरिएको छ। इरानले पनि प्रत्युत्तरस्वरूप जलमार्गमा आवागमनमा अवरोध जारी राख्ने चेतावनी दिएको छ।
यसबीच, संयुक्त अरब इमिरेट्स (यूएई) ले मे १ देखि तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेकबाट बाहिरिने निर्णय गरेपछि बजारमा थप दबाब परेको छ। यसले आपूर्ति संरचनामा अनिश्चितता बढाएको बताइएको छ।
यसअघि युद्धविरामको संकेतसँगै केही घटेको तेल मूल्य पुनः चर्किँदै गएको छ भने ऊर्जा बजारमा अस्थिरता अझै कायम रहने आकलन गरिएको छ। कच्चा तेलको मूल्यवृद्धिसँगै विश्व अर्थतन्त्रमा थप दबाब पर्ने, साथै इन्धन, ढुवानी र उपभोग्य वस्तुको मूल्यसमेत बढ्ने देखिएको छ।
विश्व बैंकले सन् २०२६ मा ऊर्जाको मूल्य २४ प्रतिशतसम्म बढ्न सक्ने प्रक्षेपण सार्वजनिक गरिसकेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै यसको प्रभाव नेपालजस्ता आयातमुखी देशमा प्रत्यक्ष पर्ने देखिन्छ। हाल नेपालमा पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ र डिजेल २३७ रुपैयाँमा बिक्री भइरहेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।