लोड हुँदैछ...

मेनु

राजनीतिक खिचातानीले कोशी प्रदेश खेलकुद बोर्ड नेतृत्वविहिन

राजनीतिक खिचातानीले कोशी प्रदेश खेलकुद बोर्ड नेतृत्वविहिन

विराटनगर । सत्तारुढ दल नेकपा एमालेभित्रको खिचातानीको कारण कोशी प्रदेश खेलकुद विकास बोर्ड ७ महिनादेखि नेतृत्वविहिन रहेको छ ।

बोर्डको सदस्य सचिव नियुक्ति नहुँदा प्रदेशभरका खेलकुद गतिविधि ठप्पजस्तै छन् । सदस्य सचिव नहुँदा जिल्ला र प्रदेशस्तरीय प्रतियोगिता, बजेट निकासा र खेलाडी छनोट प्रक्रिया प्रभावित बनेको पाइएको छ ।

बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्र्शुराम)को कार्यकाल गत भदौ २५ गते सकिएपछि नयाँ सदस्य सचिव नियुक्ति भएको छैन । सत्तारुढ दलहरूबीचको भागबण्डा र आन्तरिक खिचातानीको कारण नियुक्ति प्रक्रिया लामो समयदेखि अल्झिएको हो ।

सदस्य सचिव नियुक्त नहुँदा विद्यालयस्तरबाट सुरु हुने ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता प्रभावित भएको छ । स्थानीय तहहरूले खेलाडी छनोट गरिसके पनि जिल्ला छनोट प्रक्रिया अघि बढ्न सकेको छैन । बोर्डले छुट्याएको बजेट नै निकासा हुन नसक्दा हजारौँ खेलाडी प्रभावित भएको सुनसरी जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष अनुरोध थापाले बताए । सदस्य सचिव नहुँदा जिल्ला खेलकुद विकास समिति अध्यक्षसमेत नियुक्त हुन सकेको छैन ।

सदस्य सचिव नभएकै कारण चालु आर्थिक वर्षको लागि विनियोजित बजेट फ्रिज हुने जोखिम बढेको छ । विगतमा जस्तै वर्षको अन्त्यतिर हतारमा प्रतियोगिता आयोजना गरेर बजेट सक्ने प्रवृत्ति दोहोरिने चिन्ता सरोकारवालाको छ ।

बोर्ड नेतृत्वविहीन भएको कारण दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीसमेत प्रभावित बनेको छ । प्रतियोगिताअघि प्रशिक्षण, छनोट र तयारी तीव्र हुनुपर्नेमा कोशी प्रदेशमा सबै प्रक्रिया ठप्प छन् ।

सदस्य सचिव नभएकै कारण प्रदेशका विभिन्न सहरमा आयोजना हुने गोल्डकप प्रतियोगिताहरू पनि प्रभावित भएको अवस्था छ । बोर्डमार्फत उपलब्ध गराइने अनुदान नपाउँदा आयोजकहरू आर्थिक समस्यामा परेका छन् । गत माघमा सम्पन्न बुढासुब्बा गोल्डकप र झापा गोल्डकपले अझै सहयोग रकम पाउन सकेका छैनन् । बोर्डले बुढासुब्बा, विराट, झापा र इटहरी गोल्डकपका लागि १०–१० लाख रुपैयाँ विनियोजन गरेपनि रकम निकासा हुन सकेको छैन ।

धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार आवश्यक कागजात बुझाइसक्दा पनि सदस्य सचिव नहुँदा रकम निकासा रोकिएको हो । नेतृत्व अभावले कोशी प्रदेशको खेलकुद क्षेत्र नै पछाडि पर्ने अवस्था बनेको सरोकारवालाले बताएका छन् । नेपाल खेलकुद महासंघका सचिव विप्लव घोषले तत्काल सदस्य सचिव नियुक्त गरी बोर्डलाई पूर्णता दिनुपर्ने बताएका छन् ।

नेतृत्वमा खेल क्षेत्रका व्यक्तिलाई भन्दा कार्यकर्तालाई भर्ती गर्न खोज्दा समस्या भएको सरोकारवाला बताउँछन् । यसअघि पनि खेल क्षेत्रका व्यक्तिभन्दा एमालेका कार्यकर्ता बस्नेतलाई सदस्यसचिव बनाइएको थियो । उनी नेतृत्वमा रहँदा पनि प्रदेशको खेल क्षेत्र कमजोर बनेको थियो । गत वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कोशी प्रदेशले एक स्वर्ण पदकसमेत जित्न सकेको थिएन ।

यो वर्ष त नेतृत्व नै नभएकोले झनै समस्या हुने देखिएको छ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले यही महिनाभित्र सदस्य सचिव नियुक्त गर्ने तयारी भएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।