लोड हुँदैछ...

मेनु

बीपी प्रतिष्ठानमा पारदर्शिताको माग गर्दै हस्ताक्षर अभियान

बीपी प्रतिष्ठानमा पारदर्शिताको माग गर्दै हस्ताक्षर अभियान

धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देखिएको बेथिति, अपारदर्शिता तथा निर्माण प्रक्रियासम्बन्धी विषयमा पारदर्शिताको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरिएको छ ।

प्रतिष्ठानको व्यवस्थापनमा कमजोरी, सेवा प्रवाहमा ढिलासुस्ती तथा अपारदर्शिताका घटना बढ्दै गएको भन्दै स्थानीय प्रज्जवल श्रेष्ठको नेतृत्वमा धरान–२ भानुचोकमा गत मंगलबारदेखि हस्ताक्षर अभियान सुरु गरिएको हो ।

नेपालको संविधानको धारा २५ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ र ७ अनुसार आवश्यक सूचना तथा तथ्यांकको प्रमाणित प्रतिलिपि उपलब्ध गराउनुपर्ने प्रावधान रहेको उल्लेख गर्दै अभियानकर्ताले पारदर्शिताको माग अघि सारेका छन् । विशेषगरी मातृ तथा शिशु स्वास्थ्य भवन निर्माणमा कानुनविपरीत ठेक्का प्रक्रिया अपनाइएको भन्ने विषय सार्वजनिक रूपमा उठिरहेको भन्दै त्यसबारे स्पष्ट विवरण सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।

त्यस्तै अस्पताल भवन निर्माण, मर्मत तथा पूर्वाधार विकाससम्बन्धी सम्पूर्ण जानकारी, ठेक्का प्रक्रिया कानुनसम्मत भए–नभएको विवरण, फोहरमैला व्यवस्थापन प्रक्रिया, सवारी साधनको प्रयोग तथा इन्धन खर्च, साथै औषधि, उपकरण तथा सामग्री खरिद प्रक्रियासम्बन्धी टेन्डर लागत र आपूर्तिकर्ताको विवरण सार्वजनिक गर्न माग गरिएको छ ।

अभियानका संयोजक प्रज्जवल श्रेष्ठका अनुसार पारदर्शिता सुनिश्चित भएमा सेवाग्राहीको विश्वास बढ्ने र अस्पताल सेवामा सुधार आउने विश्वास व्यक्त गरिएको छ । सूचना प्रवाह नभएसम्म अभियान निरन्तर जारी रहने उनको भनाइ छ ।

हालसम्म यस अभियानमा दुई हजारभन्दा बढी नागरिकले हस्ताक्षर गरी ऐक्यबद्धता जनाइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।