धरान । सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएको आरोपमा उर्मिला राई विरुद्ध साइबर अपराधको मुद्दा दर्ता भएपछि उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय समन्वय प्रक्रिया अघि बढाइएको छ।
इलाका प्रहरी कार्यालय धरानले राई हाल बेलायतमामा रहेको जानकारीका आधारमा इन्टरपोलमार्फत खोजी प्रक्रिया सुरु गरिएको जनाएको छ।
कार्यालयका डीएसपी भिषणवाबाबु राईका अनुसार राईको फोटो, परिचय खुल्ने कागजात, पहिचान विवरण तथा अन्य आवश्यक व्यक्तिगत सूचना इन्टरपोल सम्बन्धित निकायमा पठाइसकिएको छ। प्रहरी स्रोतका अनुसार इन्टरपोलले खोजी प्रक्रिया अगाडि बढाइसकेको जानकारी प्राप्त भएको छ।
विगत एक वर्षदेखि सामाजिक सञ्जालमा आपत्तिजनक र विवादास्पद अभिव्यक्ति दिँदै आएको आरोपमा राईविरुद्ध मुद्दा दर्ता गरिएको हो। धरानकी एक सञ्चारकर्मी महिलाविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको आरोपमा सुनसरी जिल्ला अदालतमा साइबर अपराध सम्बन्धी मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ।
उजुरी दिने पक्षले कानुनी प्रक्रिया अगाडि बढिरहेको र सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक कारबाही अघि बढाइने जनाएको छ। प्रहरीले अन्तर्राष्ट्रिय सहयोगमार्फत आरोपितलाई नेपाल ल्याएर कानुनी दायरामा ल्याउने तयारी गरेको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।