खोटाङ । विकास निर्माणमा हुने गुणस्तरहीन काम र ठेकेदारको लापरबाहीविरुद्ध खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कडा कदम चालेको छ । नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवनमा सम्झौता विपरीत कमसल किसिमका इँटा प्रयोग गरेको पाइएपछि नगरपालिकाले निर्माणाधीन पर्खाल भत्काइदिएको हो । सिन्धुपाल्चोकको आकाश निर्माण सेवाले निर्माणको जिम्मा लिएको उक्त भवनमा एक नम्बरको इँटा प्रयोग गर्ने सम्झौता भए तापनि बढी नाफा कमाउने उद्देश्यले दुई नम्बरको इँटा प्रयोग गरिएको भेटिएपछि मंगलबार उक्त पर्खाल भत्काइएको हो ।
नगरप्रमुख विमला राईका अनुसार निर्माण कम्पनीले सुरुमा सम्झौताअनुसारकै सामग्री प्रयोग गरे पनि बीचमा आएर झुक्याउने नियतले कमसल इँटा प्रयोग गर्न थालेको पाइएको थियो । नगरपालिकासँग गरिएको सम्झौतामा गुणस्तरमा कुनै सम्झौता नहुने स्पष्ट उल्लेख भएको भन्दै नगरप्रमुख राईले बढी नाफा कमाउने लोभमा गुणस्तरहीन काम गर्ने छुट कसैलाई नभएको बताइन् । नगरपालिकाले ठेकेदार कम्पनीलाई भत्काइएको पर्खाल पुनः सम्झौता अनुसारकै एक नम्बर इँटा प्रयोग गरेर निर्माण गर्न कडा निर्देशन समेत दिएको छ ।
प्रशासनिक भवन निर्माणका लागि नेपाल सरकार, शहरी विकास मन्त्रालय र नगरपालिकाको लागत साझेदारीमा कुल ५ करोड ८७ लाख १८ हजार १३० रुपैयाँ बजेट व्यवस्था गरिएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिए । १८ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी जिम्मा लिएको ठेकेदार कम्पनीले काममा तीव्रता दिए पनि निर्माण सामग्रीमा भने लापरबाही गरेको पाइएको हो । नगरपालिकाको वडा नम्बर ५ दुर्छिमस्थित छापडाँडामा निर्माण भइरहेको यो आरसिसी पक्की भवनले नगरपालिकाको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने विश्वास लिइएको छ ।
उक्त भवन निर्माण भइरहेको १२ रोपनी जग्गा दुर्छिमका स्थानीय बासिन्दा पदमराज राई, भगशेर राई, मोहनबहादुर राई र डिकशेर राईले निःशुल्क उपलब्ध गराएका हुन् । १ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा प्राप्त भएपछि नगरपालिकाले हालसम्म सोही स्थानमा निर्मित ट्रस भवनबाट सेवा प्रवाह गर्दै आएको थियो । यो पक्की भवन निर्माण सम्पन्न भएसँगै खोटाङका १० वटै स्थानीय तहका आफ्नै सुविधासम्पन्न प्रशासनिक भवन हुनेछन् ।
जिल्लाका अन्य आठ स्थानीय तह र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसअघि नै आफ्ना भवन सञ्चालनमा ल्याइसकेका छन् । तर, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भने आफ्नै लगानीमा तीन वर्षअघि नै भवन निर्माण सम्पन्न गरे पनि हालसम्म सञ्चालनमा ल्याएको छैन । तत्कालीन गाउँपालिका प्रमुख भूपेन्द्र राईको पालामा निर्माण गरिएको उक्त सुविधासम्पन्न भवन वर्तमान जनप्रतिनिधिले सञ्चालन नगर्दा प्रयोगविहीन अवस्थामा रहेको छ । यस्तो अवस्थामा हलेसी तुवाचुङ नगरपालिकाले देखाएको सक्रियताले विकास निर्माणमा गुणस्तर कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।