लोड हुँदैछ...

मेनु

आज राति देशका विभिन्न भागमा तीव्र हावाहुरी चल्ने, उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

आज राति देशका विभिन्न भागमा तीव्र हावाहुरी चल्ने, उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विशेष अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा तीव्र गतिको हुरी चल्ने देखिएकाले प्राधिकरणले सचेत रहन आग्रह गरेको हो।

विशेषगरी कोशी प्रदेशको मोरङ, मधेस प्रदेशका धनुषा र बारा, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची तथा सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्लाहरूमा हावाहुरीको प्रभाव बढी रहने देखिएको छ। यो मौसमी प्रणाली आज साँझ ५ :४५ बजेदेखि सुरु भई बिहीबार बिहान ७ः४५ बजेसम्म रहने अनुमान गरिएको छ। पश्चिमबाट सुरु हुने यो प्रणाली क्रमशः पूर्वतर्फ सर्दै जाने र यस क्रममा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा समेत हुन सक्नेछ।

तीव्र हावाहुरीका कारण रुखहरू ढल्ने, कमजोर भौतिक संरचना भत्किने, घरको छाना उडाउने तथा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिम रहेकाले प्राधिकरणले सुरक्षाका उपायहरू अपनाउन सुझाएको छ। हावाहुरी चलेको समयमा घरबाहिर हिँडडुल नगर्न, घरका झ्यालढोका राम्रोसँग बन्द गरेर बस्न र जस्तापाताका छानाहरूलाई बलियो गरी बाँध्न आग्रह गरिएको छ। साथै, उडेर आउने वस्तुले चोट लाग्न सक्ने भएकाले चनाखो रहन र बिजुलीका तार, पोल तथा अग्ला रुखहरूको नजिक नबस्न समेत प्राधिकरणले अनुरोध गरेको छ।

हुरीको समयमा घरबाहिर आगो नबाल्न र घरभित्र पनि आगो बाल्दा विशेष सावधानी अपनाउन भनिएको छ। प्राधिकरणले सम्बन्धित क्षेत्रका बासिन्दालाई मौसमसम्बन्धी पछिल्लो जानकारी नियमित रूपमा लिँदै आवश्यक पूर्वतयारीमा रहन विशेष निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।