विराटनगर । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले आज आफ्नो दोस्रो परीक्षा दिँदैछ। पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी यूएईलाई स्तब्ध पारेर उच्च मनोबलमा रहेको नेपाली टोली आज ओमानविरुद्ध मैदान उत्रिन लागेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुने यस भिडन्तमा नेपाल लगातार दोस्रो जित निकाल्दै अंक तालिकामा आफ्नो स्थिति सुधार्ने लक्ष्यमा हुनेछ।
यो शृङ्खलाको पहिलो खेलमा नेपालले यूएईमाथि सानदार जित दर्ता गरेको थियो। अर्कोतर्फ, ओमानका लागि भने आजको खेल पुनरागमनको अवसर हुनेछ। ओमानले आफ्नो पहिलो खेलमा यूएईसँग हार बेहोरेकाले उसलाई पनि आजको खेल जित्नै पर्ने दबाब छ।
यस्तो छ अंक तालिकाको अङ्कगणित:
लिग–२ को वर्तमान तालिकामा नेपाल केही पछि देखिए पनि घरेलु मैदानको फाइदा उठाउँदै माथि उक्लने प्रयासमा छ। नेपाल २१ खेलबाट १४ अंक बटुल्दै तालिकाको सातौँ स्थानमा छ। नेपालको तुलनामा ओमान बलियो स्थितिमा देखिएको छ। ओमान २५ खेलमा २९ अंक जोडेर तेस्रो स्थानमा विराजमान छ। यता नेपालसँग पराजित यूएई भने २२ खेलमा १२ अंकका साथ आठौँ स्थानमा खुम्चिएको छ।
कीर्तिपुरको मैदान र घरेलु दर्शकको न्यानो साथले आज पनि नेपाललाई ओमान विरुद्धको खेलमा थप उर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।