लोड हुँदैछ...

मेनु

स्वास्थ्य निर्देशनालय धनकुटाको निर्देशकमा सागर प्रसाईंलाई पठाउने तयारी, फाइल मुख्यमन्त्री कार्यालयमा

स्वास्थ्य निर्देशनालय धनकुटाको निर्देशकमा सागर प्रसाईंलाई पठाउने तयारी, फाइल मुख्यमन्त्री कार्यालयमा

विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य निर्देशनालय धनकुटाको निमित्त निर्देशकमा सागर प्रसाईंलाई पठाउने निर्णय गरेको छ ।

निर्देशनालयका तत्कालीन निर्देशक ज्ञानबहादुर बस्नेतले वैशाख १३ गतेदेखि अनिवार्य अवकाश पाएपछि रिक्त रहेको उक्त पदमा प्रसाईंलाई पठाउने तयारी गरिएको हो ।

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख रहेका प्रसाईंलाई निमित्त निर्देशकको जिम्मेवारी दिने मन्त्रालयको निर्णयसम्बन्धी फाइल वैशाख ८ गते नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगिसकेको छ । मुख्यमन्त्री कार्यालयबाट स्वीकृत भएपछि मात्रै प्रसाईंको सरुवा र पदस्थापन औपचारिक हुनेछ ।

११ औं तहको दरबन्दी रहने उक्त निर्देशनालयमा हाल प्रसाईं १० औं तहका अधिकृत हुन् । बस्नेतको अवकाशपछि जनस्वास्थ्यतर्फको ११ औं तहको दरबन्दी रिक्त भएको छ । हाल कोशी प्रदेशमा १० औं तहका दुई जना स्वास्थ्यकर्मीहरू कार्यरत छन्, जसमा प्रसाईंसहित प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र विराटनगरका प्रमुख डा. सुरेश मेहता रहेका छन् ।

रिक्त रहेको ११ औं तहको दरबन्दीमा बढुवा प्रक्रिया सुरु भएमा यी दुई जना मध्ये एक जनाको पदोन्नति हुने सम्भावना रहन्छ । यीमध्ये प्रसाईं जनस्वास्थ्यतर्फ सबैभन्दा ज्येष्ठ (सिनियर) कर्मचारी हुन् । यद्यपि, उनी पनि आगामी एक वर्ष दुई महिनाभित्रै उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।