लोड हुँदैछ...

मेनु

एमालेभित्रको गुटगत भागबण्डाको मारमा कोशी प्रदेशको खेलकुद

एमालेभित्रको गुटगत भागबण्डाको मारमा कोशी प्रदेशको खेलकुद

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्ड विगत सात महिनादेखि नेतृत्वविहीन हुँदा प्रदेशभरिका खेलकुद गतिविधि ठप्प भएका छन्। बोर्डका तत्कालीन सदस्य सचिव कृष्ण बस्नेतको कार्यकाल गत भदौ २५ मा सकिएपछि राजनीतिक खिचातानी र दलगत स्वार्थका कारण नयाँ नियुक्ति हुन नसक्दा खेल क्षेत्र अन्योलमा परेको हो।

बोर्ड नेतृत्वविहीन हुँदा स्थानीय तहले विद्यालयस्तरबाट छनोट गरेका ‘राष्ट्रपति रनिङ शिल्ड’ का खेलाडीहरूको जिल्लास्तरीय छनोट प्रक्रिया अघि बढ्न सकेको छैन। बोर्डले बजेट निकासा नगर्दा हजारौँ खेलाडीहरू अवसरबाट वञ्चित हुने अवस्था आएको छ। सुनसरी जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष अनुरोध थापाका अनुसार बोर्ड मात्र नभई प्रदेशका १४ वटै जिल्लाका खेलकुद विकास समितिहरू पनि अध्यक्षविहीन छन्, जसले गर्दा तल्लो तहसम्मै खेलकुद गतिविधि शून्यप्रायः बनेका छन्।

चालु आर्थिक वर्ष सकिन अब साढे दुई महिना मात्र बाँकी छ। समयमै सदस्य सचिव नियुक्त नहुँदा विनियोजित बजेट फ्रिज हुने जोखिम बढेको छ। विगतमा जस्तै आर्थिक वर्षको अन्त्यमा हतारहतार प्रतियोगिता गरेर बजेट सक्ने परिपाटी दोहोरिने चिन्ता खेलकर्मीहरूले व्यक्त गरेका छन्।

प्रदेशका प्रतिष्ठित गोल्डकपहरू पनि बजेट अभावका कारण संकटमा परेका छन्। बोर्डले बुढासुब्बा, विराट, झापा र इटहरी गोल्डकपलाई जनही १०–१० लाख रुपैयाँ अनुदान दिने निर्णय गरे पनि नेतृत्व नहुँदा रकम निकासा हुन सकेको छैन। धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले बुढासुब्बा गोल्डकप सम्पन्न भएको लामो समय भइसक्दा पनि अनुदान रकम नपाउँदा क्लब आर्थिक मारमा परेको गुनासो गरे।

नेतृत्व अभावको प्रत्यक्ष असर आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा समेत परेको छ। राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक पर्ने विशेष प्रशिक्षण र खेलाडी छनोटका कामहरू ठप्प छन्। यसले राष्ट्रिय स्तरमा कोशी प्रदेशको प्रदर्शन कमजोर हुने देखिएको छ।

सामाजिक विकास मन्त्रालय सम्हालिरहेको नेकपा (एमाले) भित्रको गुटगत स्वार्थका कारण सदस्य सचिव नियुक्त हुन नसकेको स्रोतको दाबी छ । नेपाल खेलकुद महासंघका सचिव विप्लव घोषले सरकारले तत्काल बोर्डलाई पूर्णता दिएर खेलकुदको गति सुस्त हुनबाट जोगाउनुपर्ने माग गरेका छन्।

यता, सामाजिक विकास मन्त्री रामप्रसाद महतोले भने विभिन्न प्राविधिक र राजनीतिक कारणले ढिलाइ भएको स्वीकार गर्दै यसै महिनाभित्र बोर्डले नयाँ नेतृत्व पाउने आश्वासन दिएका छन्। तर, महिनौँदेखि खेलकुद क्षेत्रले भोगिरहेको यो क्षतिले खेलाडी र खेलप्रेमीहरूमा भने नैराश्यता छाएको छ।

– कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।