विराटनगर । ओखलढुङ्गाका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले विद्यालयका प्रधानाध्यापकलाई अपमानित गरेको घटनाले देशव्यापी चर्चा पाइरहेका बेला सम्बन्धित विद्यालयले नै सांसदसँग माफी मागेपछि यो प्रकरणले नयाँ मोड लिएको छ ।
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–२ स्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै वैशाख १० गते भएको घटनाप्रति सांसद पोखरेलसँग क्षमायाचना गरेको हो । केही दिनअघि सांसद पोखरेलले ‘म माननीय हुँ, म आउँदा बाहिरै आएर स्वागत गर्नुपर्छ’ भन्दै प्रधानाध्यापक सन्तबहादुर मगरलाई सार्वजनिक रुपमै हप्काएको र घुँडा टेकेर माफी माग्न लगाएको भिडियो सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएको थियो ।
तर, विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर बुढाथोकी र प्रधानाध्यापक सन्त बहादुर मगरद्वारा हस्ताक्षरित पछिल्लो विज्ञप्तिमा भने सांसदको बचाउ गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “माननीयज्यू विद्यालयमा आउँदा प्रधानाध्यापक मागपत्र तयार पार्न व्यस्त भई समयमै थाहा नपाएको र केही बेरपछि बाहिर निस्कँदा उहाँ फर्किसक्नुभएको रहेछ । हतारिँदै गेटमा भेट गरी स्वागत गर्ने क्रममा भएको असमझदारीप्रति विद्यालय परिवार क्षमायाचना गर्दछ ।”
विज्ञप्तिमा सो दिन सौहार्दपूर्ण वातावरणमा छलफल भएको दाबी गर्दै माननीयको ‘मान–मर्यादामा पर्न गएको आघात’ प्रति विद्यालयले दुख व्यक्त गरेको छ । जबकी, सार्वजनिक भएको भिडियोमा सांसद पोखरेलले निकै अहंकारपूर्ण शैलीमा शिक्षकलाई अपमान गरेको प्रष्ट देखिन्थ्यो ।
वैशाख १० गते विद्यालयको समस्या बुझ्न पुगेका सांसद पोखरेलले आफू पुग्दा प्रधानाध्यापक कार्यालयमै बसिरहेको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनले ‘माननीय आउँदा गेटमै आउनुपर्ने’ भन्दै शिक्षकलाई सार्वजनिक रुपमा अपमानित गरेका थिए । सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि रास्वपाभित्रै र बाहिर पनि उनको तीव्र विरोध भएको थियो ।
घटनाको गम्भीरतालाई हेर्दै रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेले पार्टीको अनुशासन समितिले छानबिन गरिरहेको बताएका थिए । लामिछानेले “रास्वपामा मालिक बन्न चाहनेहरुका लागि ठाउँ छैन” भन्दै कडा टिप्पणी गरेका थिए । चौतर्फी दबाबपछि सांसद पोखरेल आफैले पनि यसअघि एक विज्ञप्ति जारी गर्दै आफ्नो व्यवहारप्रति माफी मागेका थिए ।
नयाँ विज्ञप्तिपछि उब्जिएका प्रश्न
सांसदले आफै गल्ती स्वीकार गरिसकेको र पार्टीले समेत छानबिन गरिरहेको अवस्थामा विद्यालयले नै उल्टै ‘माननीयको मानमर्यादामा आघात पुगेको’ भन्दै माफी माग्नुलाई कतिपयले दबाब वा राजनीतिक प्रभावका रुपमा हेरेका छन् । पिडकले माफी मागेको घटनामा पीडित पक्षले नै फेरि माफी माग्नुले घटनालाई थप रहस्यमयी बनाएको छ ।
सामाजिक सञ्जालमा यो विज्ञप्ति आएपछि “के शिक्षकहरु अझै पनि शक्ति र सत्ताको अगाडि घुँडा टेक्न बाध्य छन् ?” भन्दै बहस सुरु भएको छ । यसले गर्दा साम्य हुन लागेको विवादले पुनः नयाँ रुप ग्रहण गरेको छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।