विर्तामोड । ‘हेल्लो सरकार’मा उजुरी परेपछि झापाको मेचीनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी र उपभोक्ता जागरण अभियान नेपालको संयुक्त टोलीले पूर्वी नाका काँकडभिट्टामा बजार अनुगमन गरेको छ।
सोमबार गरिएको अनुगमनका क्रममा विभिन्न नौ वटा पसलबाट ३० कार्टुन म्याद गुज्रिएका पेय पदार्थ बरामद गरिएको छ।
बिक्रीका लागि राखिएका कोकोकोला, फेन्टा, स्प्राइट र किन्लेलगायतका पेय पदार्थको म्याद सकिएको अवस्थामा फेला परेको मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दिपेन्द्र कार्कीले जानकारी दिए। अनुगमन टोलीले काँकडभिट्टा बजारका कुमार कोल्ड सेन्टर, केआर कोल्ड सेन्टर, पौडेल ब्रदर्श स्टोर्स, कृष्ण ट्रेडर्स, भट्टराई भेराइटिज, विनोद सङ्गम किराना पसल, कञ्चन कोल्डस्टोर र आरुस स्टोर्समा निरीक्षण गरेको थियो।
बरामद गरिएका म्याद गुज्रिएका पेय पदार्थ जफत गरी नष्ट गरिएको छ। साथै, खान अयोग्य सामग्री बिक्री गरेको पाइएपछि सम्बन्धित पसल सञ्चालकलाई सचेत गराउँदै तीन दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।
स्थानीय उपभोक्ताले काँकडभिट्टा बजारमा म्याद गुज्रिएका सामान खुलेआम बिक्री भइरहेको भन्दै ‘हेल्लो सरकार’मा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयमार्फत अनुगमन प्रक्रिया अघि बढाइएको जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।