विराटनगर । काठमाडौँलगायतका विभिन्न सहरहरूमा सुकुम्बासी बस्तीमाथि डोजर चलाइएपछि देशभरका सुकुम्बासी बस्तीका नागरिकहरू आतंकित र बेचैन भइरहेका बेला धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले धरानमा भने कसैको पनि उठिबास नलगाइने भन्दै आश्वस्त पारेका छन् । धरान-८ को एक सुकुम्बासी बस्तीमा पुगेर नागरिकहरूसँग प्रत्यक्ष सम्वाद गर्दै बेघाले आफू पदमा रहुन्जेल धरानका सुकुम्बासी बस्तीमा डोजर नचल्ने र कसैको घर नभत्किने प्रतिबद्धता जनाएका हुन् ।
पछिल्लो समय धरान-८ को ‘११ घरे’ बस्तीमा डोजर चल्न लागेको भन्दै फैलाइएको हल्लालाई ‘अफवाह’ को संज्ञा दिँदै बेघाले वास्तविकता स्पष्ट पारे । उनले सो क्षेत्रमा कुनै घर नगरपालिकाले भत्काएको नभई आफैँ लडेको वा जीर्ण भएको जानकारी दिँदै त्यस्ता जोखिमपूर्ण ठाउँमा पुनः घर नबनाउन आग्रह गरे । यदि विकास निर्माण वा प्राविधिक कारणले कुनै घर स्थानान्तरण गर्नुपर्ने अवस्था आएमा नगरपालिकाले व्यवस्थित गरेको अर्को ठाउँमा ७ देखि ८ धुर जग्गा उपलब्ध गराउने र नयाँ घर बनाउनका लागि नगरपालिकाले थप २ लाख रुपैयाँ नगद सहयोग समेत दिने घोषणा गरे । यस्तो व्यवस्थापन गर्दा घर नम्बरसहितको पूर्ण कानुनी प्रक्रिया पूरा गरिने उनको भनाइ थियो ।
छलफलका क्रममा स्थानीय बासिन्दाहरूले सामाजिक सञ्जालमा पानीको लाइन काटिने र बिजुली काटिने हल्ला चलेको भन्दै चिन्ता व्यक्त गरेका थिए । नागरिकका जिज्ञासाको जवाफ दिँदै कार्यवाहक प्रमुख बेघाले भने, “कसैले फेसबुकमा के लेख्यो भन्ने पछि नलाग्नुहोस्, हामीले कसैको पानी र बिजुलीको लाइन काट्ने कुरा गरेका छैनौँ र गर्दैनौँ पनि । जहाँ मान्छे बस्छन्, त्यहाँ पानी र बिजुली चाहिन्छ । बस्तीमा धारा जडान गर्ने र बिजुलीको मिटर राख्ने कुरामा नगरपालिकाले आवश्यक सिफारिस र सहजीकरण गर्नेछ ।” सुकुम्बासी भएकै कारण अँध्यारोमा बस्नुपर्ने र तिर्खाउनुपर्ने अवस्थाको अन्त्य गरिने भन्दै उनले आधारभूत सुविधा पाउनु नागरिकको अधिकार भएको बताए ।
कार्यक्रममा सुकुम्बासी संस्थाका प्रतिनिधिहरूले पनि आफ्नो धारणा राख्दै जबरजस्ती विस्थापन भन्दा पनि सुरक्षित र व्यवस्थित बसोबास (सेफ ल्यान्डिङ) चाहेको बताएका थिए । नागरिकहरूले “विकासका नाममा डोजर ल्याएर आतंकित नपार्न” आग्रह गर्दा बेघाले दृढताका साथ भने, “तपाईँहरू ढुक्क हुनुहोस्, म यहाँको जिम्मेवारीमा रहुन्जेल धरानका सुकुम्बासी बस्तीमा डोजर चल्दैन । हामी विस्थापित होइन, स्थापित गर्ने नीतिमा छौँ ।” कार्यवाहक प्रमुखको यो भनाइलाई उपस्थित नागरिकहरूले ताली बजाएर भव्य स्वागत गरेका थिए । काठमाडौँको दृश्यले त्रसित बनेका धरानका भूमिहीनहरूका लागि बेघाको यो प्रतिबद्धताले ठुलो राहत र सुरक्षाको अनुभूति गराएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।