विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले कक्षा ११ (विज्ञान संकाय) को आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ।
सोमबार कलेजको सभाहलमा आयोजित एक विशेष समारोहका बीच कक्षा ११ को तेस्रो आवधिक परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने ६२ जना विद्यार्थीहरूलाई सम्मान गरिएको हो।
सम्मानित हुनेमध्ये उत्कृष्ट १० (टप टेन) भित्र पर्न सफल विद्यार्थीहरूलाई कलेजले प्रशंसा पत्रका साथै नगद पुरस्कारले पुरस्कृत गरेको छ। विज्ञान संकायमा मात्रै १ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको यस कलेजले विद्यार्थीहरूको मनोबल उच्च राख्न हरेक वर्ष यस्तो प्रोत्साहन कार्यक्रम आयोजना गर्दै आएको छ।
यस वर्षको नतिजा अनुसार ९२.४४ प्रतिशत अंकका साथ साबिर अहमद हक प्रथम भएका छन्। त्यसैगरी ९१.७६ प्रतिशतसहित एलिसा सापकोटा द्वितीय र ९०.८९ प्रतिशत अंकका साथ विशेष पौडेल तृतीय भएका छन्। उत्कृष्ट १० भित्र पर्न सफल अन्य विद्यार्थीहरूमा कुसुम कुमारी राजवंशी, प्रीति देव, आयुष शर्मा, सुशान्त खत्री, प्रिन्स कुमार गुप्ता, सफल गौतम र राजु अधिकारी रहेका छन्।

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीहरूको सफलतामा अनुशासनको ठूलो भूमिका रहने बताए । ‘जिपिए ४ ल्याउनु मात्रै ठूलो कुरा होइन, अनुशासित हुनु पनि उत्तिकै आवश्यक छ,’ प्रिन्सिपल खड्काले भने, ‘अहिले ६२ जना सम्मानित भएका छन्, अर्को पटक यो संख्या ५० बाट बढेर १०० पुगेको हेर्न चाहन्छौँ।’’
उनले भने, ‘‘तपाईंहरूको लक्ष्य निकै माथि छ। यहाँ धेरै भविष्यका डाक्टर, इन्जिनियर र सूचना प्रविधिका विज्ञहरू हुनुहुन्छ। ११ कक्षाको एक चरण सकिएको छ र अब १२ कक्षाको बोर्ड परीक्षा तपाईंहरूको जीवनको ‘फलामे ढोका’ सरह हो। त्यसैले एक क्षण पनि अल्छी नगरी आफ्नो लक्ष्यमा केन्द्रित हुनुहोस्।’ उनले विद्यार्थीलाई आफ्नो उत्तरपुस्तिकामा चित्त नबुझे पुनः जाँचका लागि दाबी गर्न समेत हौसला दिँदै एक–एक अंकको महत्त्व बुझ्न आग्रह गरे ।

पुरस्कार वितरण समारोहमा कलेजका सञ्चालकहरू राजेन्द्रप्रसाद यादव, दयानन्द सिंह, डा. राजेन्द्रप्रसाद चौधरी, अनिलकुमार दास, प्रा.डा. ललितनारायण मण्डल, रामचन्द्र अधिकारी, शेषनारायण चौधरी र भूपेन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो। उनीहरुले विद्यार्थीहरूलाई खादा र पुरस्कार वितरण गर्दै उज्ज्वल भविष्यको कामना गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।