विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान ‘रास्वपा–बालेन’ सरकार पूर्ण रूपमा असफल भइसकेको टिप्पणी गरेका छन् । सुकुम्बासी र गरिब बस्तीमा डोजर चलाइएको सन्दर्भलाई लिएर सामाजिक सञ्जालमा आक्रोश पोख्दै साम्पाङले अब यो सरकारको अवसान मात्र बाँकी रहेको दाबी गरेका हुन् ।
गरिबको गाँस खोस्ने र बास भत्काइदिने सरकारलाई ‘असफल’ को संज्ञा दिँदै साम्पाङले यस्तो अमानवीय कृत्यलाई कुनै पनि हालतमा पुष्टि गर्न नसकिने बताएका छन् । उनले भनेका छन्, “करोडौँ–अर्बौँ भ्रष्टाचार गरी महल बनाएर मस्त निदाउनेहरूलाई मेरो चुनौती छ– गरिबलाई सास फेर्न सक्ने वातावरण बनाएर देखाऊ ।”
उनले गरिबलाई दमन गर्न हजारौँ प्रहरी र सेना परिचालन गर्ने सरकार लोकतान्त्रिक हुनै नसक्ने तर्क गरेका छन् । ‘घण्टी’ मा छाप हानेर भोट दिनेहरू नै आज चुपचाप आफ्नो सामान बोकेर सडकमा भौँतारिनु परेको दृश्यलाई उनले बिजोकको संज्ञा दिएका छन् ।
“नेता महलमा अनि जनता सडकमा हुने देश हामीले बनाउन चाहेको होइन,” भन्दै साम्पाङले गरिबको पीडा नदेख्ने सरकारको जमेर विरोध गर्न सम्पूर्ण नेपालीलाई आह्वान गरेका छन् । उनले गरिबको घाउमा मलम लगाउन नसक्ने नेतृत्वको अब कुनै काम नभएको समेत जिकिर गरेका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।