विराटनगर । मोरङका विभिन्न स्थानमा वर्षासँगै परेको चट्याङका कारण दुई महिला घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर रहेको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ७:५० बजे पथरीशनिश्चरे नगरपालिका–२ कालापानीकी ४६ वर्षीया जानुका रेग्मी भान्सा घर अगाडि उभिरहेका बेला चट्याङ लागेर घाइते भएकी हुन्। उनको दाहिने खुट्टामा चोट लागेको छ। उनलाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको जनाइएको छ।
यसैगरी बिहान करिब ८:०० बजे धनपालथान गाउँपालिका–२ पैटाकी ३० वर्षीया भाल्सा देवी रिषिदेव आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा गम्भीर घाइते भएकी हुन्। उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगरमा भर्ना गरिएको छ, जहाँ उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पथरी तथा प्रहरी चौकी अमाहिबरातीबाट प्रहरी टोली खटिएर थप अनुसन्धान भइरहेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।