लोड हुँदैछ...

मेनु

 ‘जनताले जनप्रतिनिधि कि चारतारे जनरल चुनेका हुन्?’

 ‘जनताले जनप्रतिनिधि कि चारतारे जनरल चुनेका हुन्?’

विराटनगर । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो समय जनप्रतिनिधिहरूका अभिव्यक्ति र शैलीमाथि कडा टिप्पणी गर्दै उनीहरूले आफूलाई ‘जनप्रतिनिधि’ भन्दा पनि ‘चारतारे जनरल’का रूपमा प्रस्तुत गरिरहेको भान भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बास्कोटाले जनताले सांसद चुनेको ठाने पनि उनीहरूको व्यवहार र ‘डाईलग’ सुन्दा सेनाका उच्च अधिकारी नियुक्त गरेझैँ महसुस भएको भन्दै तिखो व्यङ्ग्य कसेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “जनताले सांसद पो चुनेका हुन् भन्ठानेको मैले त चारतारे जनरल नियुक्त गरे कि के हो? क्या कन्फ्युज्ड भो त! एक सौ एकले नै खतरा डाईलग दिँदा छन् बाई!”

बास्कोटाको यो टिप्पणी विशेषगरी पछिल्लो समय सडक र सदनमा आक्रामक रूपमा प्रस्तुत भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू, काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र अन्य केही सांसदहरूतर्फ लक्षित देखिएको छ । सार्वजनिक पदमा रहेका व्यक्तिहरूले दिने कडा र पपुलिष्ट शैलीका अभिव्यक्तिहरूले लोकतान्त्रिक शिष्टताभन्दा पनि सैन्य आदेश वा सस्तो लोकप्रियताको झल्को दिइरहेको तर्फ बास्कोटाले सङ्केत गरेका हुन् । जनप्रतिनिधिको वाणी शालीन र जिम्मेवार हुनुपर्नेमा कतिपयले कमान्डरको शैलीमा ‘डाईलग’ मात्र दिइरहेको भन्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि पोखेका छन् । आफ्ना तिखा र व्यङ्ग्यात्मक टिप्पणीका लागि परिचित बास्कोटाको यो पछिल्लो भनाइले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।