विराटनगर । स्वदेशमा पर्याप्त रोजगारीको अवसर नहुँदा र आर्थिक सङ्कट बढ्दै जाँदा नेपाली युवाहरू वैदेशिक रोजगारीमा जाने क्रमले चैत महिनामा पनि निरन्तरता पाएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको चैत महिनाको पछिल्लो तथ्याङ्क अनुसार एक महिनाको अवधिमा कुल ६१ हजार ८१९ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । यो संख्यामा २० हजार ५४५ जना नयाँ श्रम स्वीकृति लिने युवाहरू रहेका छन् भने ४१ हजार २७४ जना पुनः श्रम स्वीकृति लिएर पुरानै गन्तव्यमा फर्किएका हुन् ।
यसरी विदेशिने कुल नेपालीहरूमा महिलाको संख्या ६ हजार १०७ रहेको छ । माघ र फागुन महिनामा पनि वैदेशिक रोजगारीमा जानेको संख्या औसतमा ५० देखि ६० हजारकै हाराहारीमा रहेकाले युवा पलायनको यो दर चिन्ताजनक रूपमा स्थिर देखिएको छ ।
पछिल्लो समय नेपाली युवाहरूको सबैभन्दा आकर्षक गन्तव्य मलेसिया देखिएको छ, जहाँ एक महिनामा १८ हजार ६४९ जना पुगेका छन् । त्यसैगरी संयुक्त अरब इमिरेट्समा ११ हजार ४६३, कतारमा ८ हजार ९५९ र साउदी अरबमा ८ हजार ९२० जनाले श्रम स्वीकृति लिएका छन् । युरोपेली मुलुक रोमानियामा पनि ४ हजार ४३८ जना नेपाली पुगेका छन् । जनशक्तिको वर्गीकरणलाई हेर्दा ४२ हजार २१ जना दक्ष कामदार विदेशिएका छन् भने १३ हजार ३६६ जना अदक्ष र ६ हजार १०९ जना अर्ध-दक्ष जनशक्ति बाहिरिएका छन् । व्यावसायिक र उच्च दक्ष जनशक्ति भने केही सयको संख्यामा मात्र बाहिरिएको विभागको तथ्याङ्क छ । देशभरमा सबैभन्दा धेरै युवा बाहिरिने जिल्लामा धनुषा अग्रस्थानमा छ, जहाँबाट ३ हजार ८२९ जना युवाले वैदेशिक रोजगारीको बाटो रोजेका छन् ।
कोशी प्रदेशको अवस्थालाई हेर्दा यहाँका १४ जिल्लाबाट मात्रै एक महिनामा ११ हजार ७०८ जना युवा वैदेशिक रोजगारीमा गएका छन् । प्रदेशको राजधानी समेत रहेको मोरङ जिल्लाबाट २ हजार २१२ जना बाहिरिँदा झापाबाट सबैभन्दा धेरै २ हजार ५३३ जना विदेशिएका छन् । त्यसैगरी सुनसरीबाट १ हजार ७४८, उदयपुरबाट ८८४ र इलामबाट ६१९ जना युवा बाहिरिएका छन् ।
कोशीका पहाडी तथा हिमाली जिल्लाहरू खोटाङबाट ५६९, भोजपुरबाट ५६०, पाँचथरबाट ५०९ र धनकुटाबाट ४५१ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै ओखलढुङ्गाबाट ३९९, संखुवासभाबाट ३९५, ताप्लेजुङबाट २८४, तेह्रथुमबाट २७३ र सोलुखुम्बुबाट २७२ जना युवा यो महिना कामको खोजीमा विदेशिएका छन् । ऊर्जावान् जनशक्ति यसरी ठूलो संख्यामा विदेश पलायन भइरहँदा देशको कृषि र उत्पादन क्षेत्रमा दक्ष श्रमिकको अभाव खड्किँदै गएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।