धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले सेवा प्रवाहमा ढिलासुस्ती र गैरजिम्मेवारी देखिएको भन्दै तीन सरकारी कार्यालयका प्रमुखसँग लिखित स्पष्टीकरण माग गरेको छ।
प्रशासनले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यालय धनकुटालाई तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्न शुक्रबार निर्देशन दिएको पाइएको छ।
सेवाग्राहीका गुनासा नसुन्ने, व्यवस्थापनमा तत्परता नदेखाउने तथा प्रमुख जिल्ला अधिकारीले बोलाएको बैठकमा अनुपस्थित हुनेजस्ता कारण देखाउँदै स्पष्टीकरण सोधिएको जनाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीका अनुसार चालु आर्थिक वर्षको कार्यप्रगति विवरणसमेत पेस गर्न ती कार्यालयलाई निर्देशन दिइएको छ।
वैशाख १० गते बसेको जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठकले सेवा प्रवाहको अवस्था समीक्षा गर्दै कडाइ गर्ने निर्णय गरेको थियो । सडक डिभिजन कार्यालयका प्रमुख विशेषगरी राजेन्द्रप्रसाद साहविरुद्ध सेवाग्राहीको फोन नउठाउने, उठाए पनि असहयोगी व्यवहार गर्ने र गुनासा बेवास्ता गर्ने आरोपमा जिल्ला प्रशासन कार्यालयमा मौखिक उजुरीसमेत परेको थियो।
प्रशासनका अनुसार तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआए सम्बन्धित मन्त्रालयमार्फत आवश्यक कारबाहीका लागि सिफारिस गरिनेछ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।