लोड हुँदैछ...

मेनु

एनआरटीलाई हराउँदै मच्छिन्द्रलाई इलाम गोल्डकप उपाधि

एनआरटीलाई हराउँदै मच्छिन्द्रलाई इलाम गोल्डकप उपाधि

इलाम । मच्छिन्द्र फुटबल क्लबले डिफेन्डिङ च्याम्पियन एनआरटीलाई २–० ले पराजित गर्दै तेस्रो संस्करणको इलाम गोल्डकप उपाधि जितेको छ।

शनिबार सम्पन्न फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै मच्छिन्द्रले उपाधि कब्जा गर्दा एनआरटीको लगातार तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्य अधुरै रह्यो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ सुरु भएसँगै मच्छिन्द्रले खेलमा पकड जमायो। खेलको ४७औँ मिनेटमा सौरभ सुब्बाले गोल गर्दै अग्रता दिलाए भने त्यसको तीन मिनेटपछि मिलन चाम्लिङले अर्को गोल थप्दै टिमलाई सुरक्षित जित दिलाए।

उपाधिसँगै मच्छिन्द्रले १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता एनआरटीले ५ लाख रुपैयाँमा चित्त बुझायो।

फाइनलको ‘म्यान अफ द म्याच’ प्रदीप बुढाथोकी घोषित भए। व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक प्रदीप भण्डारी, उत्कृष्ट डिफेन्डर आशिष गुरुङ, उत्कृष्ट मिडफिल्डर युवराज ढकाल, सर्वाधिक गोलकर्ता मिलन चाम्लिङ र उत्कृष्ट प्रशिक्षक प्रवेश कटुवाल घोषित भए।

उदीयमान खेलाडी विवेक सुनाम र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी सनिस श्रेष्ठ घोषित भए। रेडहर्ष फुटबल क्लबको आयोजनामा वैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।