लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा लागूऔषधसहित १४ जना पक्राउ

कोशी प्रदेशमा लागूऔषधसहित १४ जना पक्राउ

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले चलाएको पछिल्लो कारबाहीका क्रममा लागूऔषध ब्राउन सुगर, गाँजा र प्रतिबन्धित औषधिसहित १४ जना पक्राउ परेका छन् । वैशाख १० गते झापा, सुनसरी, इलाम, उदयपुर र मोरङका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार सबैभन्दा धेरै झापा, सुनसरी र इलामबाट ब्राउन सुगरसहित १२ जना पक्राउ परेका छन् । झापाको भद्रपुरबाट १६ ग्राम ५१० मिलिग्राम ब्राउन सुगरसहित भिमराज खजुम, राजमान राई, लक्ष्मण लिम्बु र सुमन मुखिया पक्राउ परेका छन् भने झापा गाउँपालिकाबाट मदन मिश्र ३ ग्राम ८९ मिलिग्राम ब्राउन सुगरसहित समातिएका छन् ।

त्यसैगरी, सुनसरीको धरानबाट ३ ग्राम ९३० मिलिग्राम ब्राउन सुगरसहित तुफान विश्वकर्मा र कोशी गाउँपालिकाबाट जिवन कार्की, अनिल राजधामी, राजेश चौधरी र नविन चौधरीलाई २ ग्राम १९ मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको छ । इलाम नगरपालिकाबाट सुधिर अधिकारी र पार्वता चौहान अधिकारी १ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

यता, उदयपुरको बेलका नगरपालिका–८ मा २७ किलोग्राम गाँजासहित अटो चालक अशोक राईलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगर–१५ बाट प्रतिबन्धित औषधि निट्राजेपाम ९० ट्याब्लेटसहित सुदिप उराउ पक्राउ परेका छन् । साथै, मोरङकै उर्लाबारी–९ स्थित बल बहादुर श्रेष्ठको घरबाट प्रहरीले विभिन्न प्रकारका १४० वटा क्याप्सुल र ४८५ ट्याब्लेट लागूऔषध बरामद गरेको छ ।

पक्राउ परेका १४ जनामाथि नै सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले थप अनुसन्धान अघि बढाएका छन् । कोशी प्रदेश प्रहरीले सीमावर्ती र सहरी क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि निगरानी बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।