लोड हुँदैछ...

मेनु

लोकतन्त्र दिवस: शाही निरंकुशता ढलेको र जनताको जीत भएको त्यो ऐतिहासिक दिन

लोकतन्त्र दिवस: शाही निरंकुशता ढलेको र जनताको जीत भएको त्यो ऐतिहासिक दिन

विराटनगर । नेपाली राजनीतिक इतिहासमा आजको दिन (वैशाख ११) शाही निरंकुशताले घुँडा टेकेको र जनताको सार्वभौमसत्ता पुनःस्थापित भएको स्वर्णिम दिनका रूपमा अंकित छ । वि.सं. २०६३ सालमा आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले जनआन्दोलनको राप र चापका अगाडि नतमस्तक हुँदै विघटित संसद् पुनःस्थापनाको घोषणा गरेका थिए । सोही ऐतिहासिक घटनाको स्मरणमा आज देशभर २० औँ लोकतन्त्र दिवस मनाइँदै छ ।

२०६१ माघ १९ मा राजाले शासन सत्ता पूर्ण रूपमा आफ्नो हातमा लिएपछि सुरु भएको अधिनायकवादविरुद्ध सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीबीच भएको १२ बुँदे समझदारीले आन्दोलनको बलियो जग बसालेको थियो । २०६२ फागुनदेखि सुरु भई चैतमा उत्कर्षमा पुगेको निर्णायक आन्दोलनले काठमाडौंका सडकमा मानवसागर उतारेपछि अन्ततः राजा ज्ञानेन्द्र ‘जनताको नासो जनतालाई नै फिर्ता’ गर्न बाध्य भए ।

पुनःस्थापित संसद्को २०६३ जेठ ४ गतेको बैठकले राजसंस्थाका सम्पूर्ण अधिकार कटौती गर्दै मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरेको थियो, जसलाई ‘नेपाली म्याग्नाकार्टा’ समेत भनिन्छ । यही जनआन्दोलनको जगमा २०६५ जेठ १५ गते २४० वर्षे राजतन्त्रको विधिवत् अन्त्य भई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो र अन्ततः २०७२ मा नयाँ संविधान जारी भयो ।

यद्यपि, लोकतन्त्रको यो झण्डै दुई दशकको यात्रामा राजनीतिक अस्थिरता, सरकार फेरबदलको शृङ्खला र भ्रष्टाचारका कारण आम जनतामा निराशा भने कायमै छ । परिवर्तनको प्रवेशद्वार मानिने वैशाख ११ ले नागरिकका ती अधुरा सपना पूरा गर्न र लोकतन्त्रको लाभ भुइँतहका जनतासम्म पुर्‍याउन राज्यलाई थप जिम्मेवार बन्न झकझक्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।