लोड हुँदैछ...

मेनु

उदयपुर आगलागी पीडितलाई प्रदेश सरकारको राहत

उदयपुर आगलागी पीडितलाई प्रदेश सरकारको राहत

उदयपुर । चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारमा मंगलबार राति भएको भीषण आगलागीबाट प्रभावित परिवारलाई कोशी प्रदेश सरकारले राहत उपलब्ध गराएको छ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतम पीडितहरू बसिरहेको अस्थायी आश्रयस्थलमै पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन्। सरकारका तर्फबाट दाल, चामल, लत्ताकपडा, त्रिपाल, बाल्टीलगायत अत्यावश्यक सामग्री वितरण गरिएको छ।

आगलागीमा ७० वर्षीय लक्ष्मीनारायण खड्का र उनका नाति पवन खड्काको जलेर मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार घरभित्रै रहेका उनीहरू आगोले चारैतिरबाट घेरेपछि बाहिर निस्कन नपाई ज्यान गुमाएका हुन्।

प्रहरीले विद्युत् सर्टका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरेको छ। काठबाट बनेका घर भएकाले आगो तीव्र रूपमा फैलिएको बताइएको छ। घटनामा पदम खड्काको घरसहित दुईवटा खसी जलेर करिब ३१ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

त्यस्तै, छिमेकी रविनकुमार दासको घर तथा किराना पसलमा करिब २० लाख, मित्र थापामगरको स्टेसनरी पसलमा करिब ६ लाख, होमबहादुर परियारको ट्रेलरमा करिब २ लाख तथा मैया पौडेलको चटपटे पसलसहित अन्य सामग्रीमा करिब ४ लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ। आगलागीबाट कुल करिब ६३ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।

प्रदेश सरकारको नीतिअनुसार आगलागीमा जलेर मृत्यु हुने एक जनाका लागि १ लाख रुपैयाँ र एकै परिवारका थप सदस्यको मृत्यु भएमा थप ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराइने व्यवस्था छ। सोहीअनुसार एउटै परिवारका दुई जनाको मृत्यु भएकाले उक्त परिवारलाई १ लाख ५० हजार रुपैयाँ राहत उपलब्ध गराइएको राज्यमन्त्री गौतमले जानकारी दिए।

यसका साथै १० लाख रुपैयाँभन्दा बढी क्षति भएका परिवारलाई घर पुनःनिर्माणका लागि थप ५० हजार रुपैयाँ राहत रकम केही समयपछि प्रदान गरिने उनले बताए। प्रदेश सरकारबाट शीघ्र राहत उपलब्ध गराइएपछि पीडित परिवारले केही राहत महसुस गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।