लोड हुँदैछ...

मेनु

चौतर्फी दबाबपछि गृहमन्त्री सुधन गुरुङको राजीनामा

चौतर्फी दबाबपछि गृहमन्त्री सुधन गुरुङको राजीनामा

काठमाडौँ । विवादित व्यवसायीसँगको सेयर कारोबारमा नाम मुछिएपछि चौतर्फी आलोचना खेपिरहेका गृहमन्त्री सुधन गुरुङले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन्। गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष आफ्नो राजीनामा बुझाएका हुन्।

आफूमाथि लागेका गम्भीर आरोपहरू र बढ्दो सार्वजनिक दबाबका बीच उनले पद त्याग गर्ने निर्णय गरेका हुन्। उनले राजीनामाबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक जानकारी गराउँदै छानबिनका लागि मार्गप्रशस्त गरेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले सरकार गठन गरेकै दिन गुरुङलाई गृहमन्त्रीको जिम्मेवारी सुम्पिएका थिए। कार्यकालको सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीहरूलाई पक्राउ गरी सुशासनको सङ्केत दिएर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने विवादित व्यवसायीसँग सेयर कारोबारमा संलग्न रहेको तथ्य बाहिरिएपछि आलोचनाको केन्द्रमा परेका थिए।

सरकारकै अर्का श्रम मन्त्री दीपक साहलाई विवादमा मुछिएकै आधारमा प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्दा गुरुङलाई भने संरक्षण गरेको भन्दै सरकारको समेत आलोचना भइरहेको थियो।

उच्च स्रोतका अनुसार, गुरुङले राजीनामा दिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग गम्भीर छलफल गरेका थिए। लामिछानेसँगको सोही संवाद र प्रधानमन्त्रीको समेत ग्रिन सिग्नल पाएपछि उनले पदबाट हट्ने निर्णय लिएका हुन्।

प्रधानमन्त्री शाहले मन्त्रिमण्डलमा क्लिन इमेज भएका व्यक्तिहरूलाई मात्र राख्ने अडान राखेपछि गुरुङमाथि राजीनामा दिन ठुलो दबाब परेको थियो। गुरुङको राजीनामासँगै अब गृह मन्त्रालयको जिम्मेवारी कसले पाउने भन्ने विषयमा राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।