लोड हुँदैछ...

मेनु

सरकारको निर्देशन अवज्ञा गर्दै उर्लाबारीमा भोलिदेखि नै पठनपाठन सुरु गर्ने निर्णय

सरकारको निर्देशन अवज्ञा गर्दै उर्लाबारीमा भोलिदेखि नै पठनपाठन सुरु गर्ने निर्णय

विराटनगर । संघीय सरकारले नयाँ शैक्षिक सत्र आगामी वैशाख २१ गतेबाट मात्रै सुरु गर्न र १५ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिएको भए पनि स्थानीय तहहरूले उक्त निर्देशनको अवज्ञा गर्न थालेका छन्। यसै क्रममा मोरङको उर्लाबारी नगरपालिकाले संघीय सरकारको कार्यतालिकालाई लत्याउँदै वैशाख ९ गतेदेखि नै विद्यालयमा पठनपाठन सुरु गर्ने निर्णय गरेको छ।

नगरपालिकाको नगर शिक्षा समितिको आज वैशाख ८ गते बसेको बैठकले लामो समयसम्म विद्यालय बन्द राख्नु शैक्षिक क्रियाकलापका दृष्टिले उपयुक्त नभएको ठहर गर्दै भोलि ९ गतेबाटै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। नगरपालिकाद्वारा जारी सूचनामा नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरूमा भोलिदेखि नै नियमित पठनपाठन सुरु गर्न निर्देशन दिइएको छ।

यसअघि नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ बाट सुरु गरी २१ गतेबाट मात्र पठनपाठन सञ्चालन गर्ने पत्राचार गरिएको थियो। साथै, सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय समेत कार्यान्वयनमा ल्याउन खोजेको थियो। तर, उर्लाबारी नगरपालिकाले शैक्षिक क्षतिलाई न्यूनीकरण गर्न भन्दै सरकारको उक्त कार्यतालिका कुर्न नसकिने जनाएको छ।

स्थानीय तहले संघीय सरकारको निर्देशन पालना नगरेको यो पहिलो घटना भने होइन। यसअघि प्रदेश राजधानी समेत रहेको विराटनगरका कतिपय निजी विद्यालयहरूले सरकारको निर्देशनविपरीत वैशाखको पहिलो हप्तादेखि नै नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा (इन्ट्रान्स) सञ्चालन गरिसकेका छन्। विराटनगरका प्रतिष्ठित मानिने कतिपय विद्यालयले चैत महिनामै नतिजा प्रकाशन गरी वैशाखको सुरुवातमै कक्षा सञ्चालनको तयारी गरेका थिए।

संघीय सरकार र स्थानीय तहबीचको समन्वय अभाव र फरक–फरक कार्यतालिकाका कारण अभिभावक र विद्यार्थीहरू भने अन्योलमा परेका छन्। स्थानीय सरकार सञ्चालन ऐनले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएकाले पनि कतिपय पालिकाले केन्द्रको निर्देशनभन्दा आफ्नो आवश्यकता अनुसार निर्णय लिने गरेका छन्। यसले देशभरको शैक्षिक सत्रमा एकरूपता कायम गर्ने सरकारको लक्ष्यमा चुनौती थपिदिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।