इटहरी । बढ्दो सेवाग्राही चापलाई व्यवस्थापन गर्दै सेवा प्रवाहलाई छिटो, सहज र व्यवस्थित बनाउन कोशी प्रदेश सरकारले डिजिटल प्रणाली कार्यान्वयन सुरु गरेको छ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत रहेको सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा सोमबार अनलाइन भुक्तानी र टोकन प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।
कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणी पराजुलीले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनु अहिलेको आवश्यकता भएको बताए। नयाँ प्रणालीअन्तर्गत सवारीसाधनसम्बन्धी राजस्व तथा अन्य शुल्क अब अनलाइनमार्फत भुक्तानी गर्न सकिनेछ। यसले सेवाग्राहीलाई बैंक धाउनुपर्ने झन्झट हटाउने र समय तथा श्रम दुवैको बचत हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सेवा लिने प्रक्रियामा टोकन प्रणाली लागू भएपछि सेवाग्राहीले व्यवस्थित रूपमा आफ्नो पालोअनुसार सेवा लिन सक्नेछन्। कार्यालयका अनुसार दैनिक सयौँ सेवाग्राही आउने कार्यालयमा लामो लाइन, भीडभाड र अव्यवस्थाको समस्या थियो। नयाँ प्रणालीले यी समस्या समाधान गर्दै सेवा प्रवाहमा पारदर्शिता बढाउने विश्वास गरिएको छ।
मन्त्रालयले यो प्रणाली कोशी प्रदेशमै पहिलो पटक इटहरीबाट सुरु गरिएको जनाएको छ। सफल कार्यान्वयनपछि अन्य जिल्लाका यातायात कार्यालयमा समेत विस्तार गर्ने योजना छ।
कार्यालयले डिजिटल प्रणालीले बिचौलियाको प्रभाव घटाउने र सेवाग्राहीलाई आफ्नो समयअनुसार सेवा लिन सक्ने वातावरण बनाउने विश्वास व्यक्त गरेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।