विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा साताको दुई दिन बिदा दिने नयाँ व्यवस्थासँगै बिरामीको थामिनसक्नु घुइँचो लाग्न थालेको छ । शनिबार र आइतबार बिदापछि आज खुलेको अस्पतालको बहिरंग (ओपिडी) सेवा, अल्ट्रासाउण्ड, एक्स–रे, टिकट काउन्टर, बिल काउन्टरदेखि फार्मेसीसम्म बिरामी र तिनका आफन्तको अत्यधिक भीडले सेवा प्रवाह अस्तव्यस्त बनेको छ ।
एउटा सामान्य उपचारका लागि पनि बिरामीले पूर्जा लिनेदेखि चिकित्सक भेट्ने, प्याथोलोजी जाँच तथा एक्स–रेको बिल काट्ने, जाँच गराउने, रिपोर्ट देखाउने र औषधि लिनेसम्म गरी कम्तीमा ६ पटक लाइन बस्नुपर्ने बाध्यता छ । हरेक पटक ५० औँ जनाभन्दा बढीको पछाडि घन्टौँ उभिनुपर्दा बिरामी र कुरुवाहरू अस्पताल परिसरमै लखतरान पर्ने गरेका छन् ।
यसअघि सार्वजनिक बिदाका दिनमा पनि ओपिडी सेवा सुचारु राख्दै आएको कोशी अस्पतालमा हाल साताको पाँच दिन मात्र ओपिडी सञ्चालन हुन थालेपछि चाप व्यवस्थापनमा चुनौती देखिएको हो ।
सेवाग्राहीको अत्यधिक भीडका कारण अस्पतालमा बस्ने कुर्सीको समेत अभाव हुँदा महिला, साना बालबालिकाका आमाहरू, ज्येष्ठ नागरिक र अशक्तहरू भुँईमै असरल्ल बसेर आफ्नो पालो पर्खिन विवश देखिन्छन् । बिरामीको चाप अनुसार जनशक्ति र व्यवस्थापन प्रभावकारी नहुँदा टाढा–टाढाबाट आएका सेवाग्राहीहरू दिनभर लाइनमै बिताउन बाध्य छन्, जसले अस्पतालको सेवा प्रवाहलाई निकै कष्टकर बनाएको छ ।












प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।