विराटनगर । गृहमन्त्री सुदन गुरुङले बुझाएको सम्पत्ति विवरणमा केही कम्पनीको शेयर लुकाएको आरोप खेपिरहेका बेला उनले दिएको स्पष्टीकरण नै थप विवादित बन्ने देखिएको छ ।
मन्त्री गुरुङले विवादित शेयर खरिद गर्न आफूले ऋण लिएको दाबी गरे पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले बुझाएको सम्पत्ति विवरणमा भने ऋणसम्बन्धी कुनै पनि जानकारी उल्लेख गरेका छैनन् ।
स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरेको २५ लाख रुपैयाँ बराबरको लगानी सम्पत्ति विवरणमा नदेखाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । त्यस विषयमा गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस पोष्ट गर्दै स्पष्टीकरण दिएका थिए । उनले उक्त शेयर नलुकाएको दाबी गर्दै सम्पत्ति विवरणको ‘धितोपत्र बजारमा कारोबार हुने शेयरहरू’ (जसको कुल मूल्य २ करोड ७४ लाख ५६ हजार २०० रुपैयाँ उल्लेख छ) अन्तर्गत नै उक्त लगानी समेटिएको जिकिर गरेका छन् । यसलाई उनले लुकाएको नभई वर्गीकरणको विषय भनेका छन् ।
स्पष्टीकरण दिने क्रममा मन्त्री गुरुङले आफ्नो लगानीको स्रोत खुलाउँदै भनेका छन्, ‘मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को हो, जुन रेकर्डमा नै छ ।’
तर, मन्त्री गुरुङले भरेको सम्पत्ति विवरणको फारामले उनको यो दाबीलाई सोझै गिज्याएको छ । प्राप्त सम्पत्ति विवरणको पृष्ठ ३ मा रहेको खण्ड (घ) मा ‘ऋण लिए/दिए/तिरेको विवरण’ उल्लेख गर्नुपर्ने स्पष्ट महल छ । तर, मन्त्री गुरुङले बुझाएको उक्त फाराममा ऋण लिएको, दिएको वा तिरेको कुनै पनि विवरण खुलाइएको छैन, उक्त महल पूर्ण रूपमा खाली छाडिएको छ ।
सामाजिक सञ्जालमा स्पष्टीकरण दिने क्रममा उनले त्यो सेयर किन्ने स्रोत ऋण भएको दाबी गरेका छन् । ‘मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो र त्यसको लिखित तमसुक मिति २०८०-०५-२९ को हो, जुन रेकर्डमा नै छ,’ गुरुङले भनेका छन्, ‘उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो ।’
अर्कातिर, धितोपत्र बजारमा कारोबार हुने सेयरमा दुई माइक्रोइन्स्योरेन्सको सेयरसमेत रहेको गुरुङको दाबी पनि झुटो देखिएको छ । गुरुङले धितोपत्र बजारमा कारोबार हुने सेयरमै यी दुई कम्पनीको सेयर पनि समावेश रहेको उल्लेख गरेका छन् ।
‘मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जो कोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ, स्टार माइक्रोइन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो, यो लुकाउने होइन, वर्गीकरणको विषय हो,’ उनले दाबी गरेका छन् ।
तर, यथार्थ भने भिन्न छ । लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स कम्पनी र स्टार माइक्रोइन्स्योरेन्स दुवै कम्पनी अहिलेसम्म आईपीओमा गएकै छैनन् । आईपीओमा जाँदै नगएका कम्पनीको सेयर धितोपत्र बजारमा कारोबार नै हुँदैन । यसरी नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत नै नभएका सेयर पनि धितोपत्र बजारमा कारोबार सेयर रहेको भनेर उनले झुट बोलेका हुन् ।
सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो सम्पत्ति र दायित्व (ऋण) दुवैको यथार्थ विवरण खुलाउनुपर्ने कानुनी प्रावधान छ । यदि मन्त्री गुरुङले दाबी गरेझैँ २०८० भदौ २९ गते नै तमसुक गरेर ऋण लिएका थिए भने, उनले उक्त ऋण र साहुको नाम आफ्नो सम्पत्ति विवरणको खण्ड (घ) मा अनिवार्य देखाउनुपथ्र्यो ।
एकातिर प्रमाणका आधारमा बोल्न आग्रह गर्दै शेयर किन्न ऋण लिएको दाबी गर्ने, तर अर्कोतिर राज्यलाई बुझाएको आधिकारिक सम्पत्ति विवरणमा ऋणको महल खाली राख्ने उनको कार्यले उनीमाथि झन् गम्भीर नैतिक र कानुनी प्रश्न खडा गरेको छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।