विराटनगर । विराटनगरस्थित हुलाक निर्देशनालयका हल्कराहरू अचेल एउटा अनौठो समस्यासँग जुधिरहेका छन् । उनीहरू चिठी बोकेर सम्बन्धित व्यक्तिको घरको ढोकामै पुग्छन्, तर त्यहाँ पुग्दा ९९ प्रतिशत व्यक्तिले चिठी बुझ्न मान्दैनन् । कतिपयले त आफ्नो परिचय नै लुकाउँछन् भने कतिपयले ठेगाना नै अर्कै हो भनेर हल्करालाई फर्काइदिन्छन् ।
खासमा, मानिसहरू व्यक्तिगत चिठीभन्दा पनि बैंक र अदालतका पत्रहरूसँग डराउने गरेका हुन् । हुलाकमा सबैभन्दा धेरै निजी बैंकका पत्रहरू आउँछन् । ऋण तिर्न बाँकी भएका वा बैंकसँग कारोबार बिग्रिएका ग्राहकहरूलाई पठाइने ती पत्र बुझ्दा कानूनी म्याद सुरु हुन्छ भन्ने डर सेवाग्राहीमा देखिन्छ । चिठी बुझेपछि ऋणको भार थपिन्छ वा कानूनी कारबाही अघि बढ्छ भन्ने बुझाइले गर्दा उनीहरूले हल्करासँग झुटो बोल्ने गरेका छन् ।
नायब सुब्बा भोजराज निरौलाका अनुसार यो समस्या निकै जटिल बनेको छ । “चिठी बुझेपछि कानूनी झमेला आइलाग्छ भन्ने डरले मान्छेहरू चिनजानकै हल्करालाई पनि ‘म त्यो मान्छे होइन’ भनिदिन्छन्,” उहाँले भन्नुभयो । हल्कराहरू निकै दुःखले घर पत्ता लगाउँछन्, तर अन्त्यमा चिठी बुझाउन पाउँदैनन् । कोशी प्रदेशका १४ जिल्ला र १३७ पालिकामै यस्तो समस्या व्याप्त छ ।
निर्देशनालयमा अहिले ९ जना हल्कराहरू छन् । उनीहरूमध्ये धेरैजसो करार सेवामा छन् । चिठी बाँड्न जान उनीहरूसँग सरकारी सवारी साधन छैन । कोही पैदलै त कोही आफ्नै व्यक्तिगत मोटरसाइकल प्रयोग गरेर गाउँ–टोल पुग्छन् । यति दुःख गरेर पुग्दा पनि सेवाग्राहीले चिठी नबुझिदिँदा कर्मचारीहरू निकै हैरान छन् । चिठी बुझ्न नमानेपछि हल्कराले ‘बुझ्न नमानेको’ भनी प्रमाणित गरेर पत्र सम्बन्धित कार्यालयमै फिर्ता पठाइदिन्छन् ।
हुलाक निर्देशनालयका अर्का नायब सुब्बा दीपेन्द्र कटवालका अनुसार बैंकबाहेक अदालत, मालपोत र प्रशासनका पत्रहरू पनि यसरी नै फिर्ता हुने गरेका छन् । एकातिर स्रोत र साधनको अभावमा हुलाक सेवा सुस्त छ, अर्कातिर पुगेका चिठी पनि सेवाग्राहीले नबुझिदिँदा हुलाकको प्रभावकारितामा चुनौती थपिएको छ । सरकारले हुलाकमार्फत नयाँ सेवाहरू थप्ने तयारी गरे पनि यस्तो कानूनी डर र सामाजिक प्रवृत्तिका कारण सेवा प्रवाहमा बाधा पुगेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।