विराटनगर । नेपाल जेन–जी फ्रन्टले देशका विभिन्न शहरहरूमा ‘अनधिकृत संरचना’ खाली गराउने नाममा राज्यले नागरिकको आवास र जीउज्यानमाथि बर्बर दमन गरेको भन्दै कडा विरोध जनाएको छ । फ्रन्टले एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सरकारी निकायबाट भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, “कुनै ठोस विकल्प वा पुनस्र्थापनाको व्यवस्था नगरी राज्यस्रोतको बलमा डोजर चलाउनु राज्यको गैरजिम्मेवारपनको पराकाष्ठा हो ।” दशकौंदेखि साना पसल व्यवसाय गरेर गुजारा गरिरहेका न्यून आय भएका व्यापारी र सर्वसाधारणलाई उठिबास लगाउने कार्यले लोकतान्त्रिक राज्यको उपहास गरेको फ्रन्टको ठहर छ ।
जेन–जी फ्रन्टले अपाङ्गता भएका व्यक्ति र सर्वसाधारणमाथि सुरक्षाकर्मीले गरेको व्यवहारलाई ‘क्रुर र अमानवीय’ संज्ञा दिएको छ । सार्वजनिक भएका भिडियो र तस्बिरहरूले राज्यको नियतमाथि प्रश्न उठाएको भन्दै फ्रन्टले यस्ता कार्यमा संलग्न सुरक्षाकर्मीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ । साथै, सुरक्षा संयन्त्रलाई मानवीय संवेदना र अधिकारका बारेमा प्रभावकारी तालिम दिन समेत अपील गरिएको छ ।
“नागरिकको पीडा र आँसुमा उभिएको सहर कहिल्यै सुन्दर हुन सक्दैन,” विज्ञप्तिमा उल्लेख छ । फ्रन्टले कुनै पनि संरचना हटाउनुअघि त्यहाँ आश्रित नागरिकका लागि ‘उचित विकल्प र वैज्ञानिक व्यवस्थापन’ सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेको छ ।
नागरिकलाई तयारीका लागि पर्याप्त समय र सूचना उपलब्ध गराएर मात्र कानुनी प्रक्रिया अगाडि बढाउन सचेत गराउँदै जेन–जी फ्रन्टले सरकारलाई आफ्नो कार्यशैलीमा तत्काल सुधार गर्न र उच्च जिम्मेवारी प्रदर्शन गर्न चेतावनी समेत दिएको छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।