विराटनगर । निजामती तथा सरकारी सेवामा कार्यरत कर्मचारीहरूले अबदेखि महिनाको दुई पटक (अर्धमासिक रुपमा) तलब पाउने भएका छन् । अर्थ मन्त्रालयले वैशाख ४ गते मन्त्रिस्तरीय निर्णय गर्दै सरकारी कर्मचारीहरूको तलब भत्ता सुविधा अर्धमासिक रूपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन परिपत्र जारी गरेको छ ।
मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलाई पत्राचार गर्दै सबै सरकारी कार्यालय र सार्वजनिक संस्थानहरूमा यो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । यसअघि कर्मचारीहरूले चैत महिनासम्मको तलब मासिक रूपमा बुझ्दै आएका थिए । नयाँ व्यवस्था लागू भएसँगै अब कर्मचारीको खातामा १५–१५ दिनको अन्तरालमा पारिश्रमिक जम्मा हुनेछ ।
यद्यपि, सरकारले के कति कारणले यो निर्णय गरेको हो र यसबाट समग्र अर्थतन्त्रमा के कस्तो फाइदा पुग्छ भन्नेबारे पत्रमा केही स्पष्ट पारेको छैन । सामान्यतया बजारमा नगद प्रवाह बढाई आर्थिक गतिविधि चलायमान बनाउन यस्तो अभ्यास गर्ने गरिए पनि सरकारले यसको आधिकारिक पुष्टि भने गरेको छैन ।
नेपालका केही औद्योगिक प्रतिष्ठानहरूले मजदुरहरूलाई साप्ताहिक रूपमा पारिश्रमिक दिने अभ्यास गरे पनि अधिकांश निजी क्षेत्र र बैंक तथा वित्तीय संस्थाहरूमा अझै पनि मासिक रूपमै तलब भुक्तानी गर्ने प्रचलन छ । सरकारी क्षेत्रमा सुरु भएको यो नयाँ अभ्यासले आगामी दिनमा निजी क्षेत्रको पारिश्रमिक प्रणालीलाई कस्तो प्रभाव पार्छ भन्ने चासोको विषय बनेको छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।