विराटनगर । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा प्रहरीले घाँटी न्याकेको देखिएकी सुनसरी दुहबी–१० की रामकुमारी चौधरीले आफूलाई प्रहरीले कपाल लुछेको र घाँटी अठ्याएर आवाजसमेत निकाल्न नदिएको बताएकी छिन् ।
सडक छेउको ऐलानी जग्गामा बनाइएको टहरा भत्काउने क्रममा नगर प्रहरीबाट दुव्र्यवहार भोगेकी रामकुमारी चौधरी र उनका १९ वर्षीय छोरा सुदन कुमार चौधरीले प्रहरी ज्यादती गरेको बताए । कुराकानीमा आमा–छोराले आफूहरु गरिब भएकै कारण प्रहरी प्रशासनबाट अन्यायमा परेको र घटनापछि उपचार गर्ने पैसासमेत नभएको पीडा पोखेका छन् ।
प्रहरीले जेसिबी (डोजर) मा ढुङ्गा हान्न खोजेपछि दुर्घटनाबाट बचाउन मात्र नियन्त्रणमा लिएको भन्ने दाबीलाई रामकुमारीले सिधै अस्वीकार गरेकी छन् । आफूले डोजरलाई ढुङ्गा नहानेको बरु अमिन ल्याएर जग्गा नाप्न मात्र आग्रह गरेको उनले बताइन् ।
घटनाको बेलिबिस्तार लगाउँदै रामकुमारीले भनिन्, ‘मैले न भत्काउनु, पहिला यो नम्बरीमा (व्यक्तिको) छ कि ऐलानीमा छ, अमिन ल्याएर छुट्याउनुस् भनेको थिएँ । सबै जनाले निष्पक्ष न्याय दिनुस्, अनि मात्र भत्काउनुस् भनेको थिएँ । तर उनीहरुले केही नभनी मलाई धरपकड गरेर, घाँटी नेटेर (न्याकेर), चार–पाँच जना व्यक्तिले कपाल तानेर मुख बन्द गराए । घाँटी नेटेर आवाजै निस्किन दिएनन् ।’
आफूलाई प्रहरीले त्यसरी घाँटी अठ्याएर रुखमुनि धेरै बेर राखेको उनको भनाइ छ । ‘मलाई १०–१५ मिनेटभन्दा बढी नै त्यसरी राखे,’ उनले भनिन्, ‘जब मान्छेहरुले भिडियो गर्न थाले, भिडियो लिन थाले, अनि मात्रै उनीहरुले मलाई छोडे ।’

रामकुमारीका अनुसार उक्त टहरा भत्काउनु १०–१५ दिन अगाडि मात्रै सडकभन्दा अलि परको ऐलानी जग्गामा बनाइएको थियो । गरिबी र परिवारको बाध्यताका कारण आफूले उक्त टहरा बनाएको उनले सुनाइन् । ‘हाम्रो ठाउँ साँघुरो थियो । पानीहरु परिरहेको थियो, घरमा पानी चुहिराख्छ,’ उनले भनिन्, ‘छोराहरु बढिसके, बस्नको लागि ठाउँ थिएन, सानो थियो । त्यही भएर छोराहरु बस्नको लागि नयाँ टहरा बनाउन आँटेको हो । म गरिबको त्यही ६–७ हजार रुपैयाँ खर्च लागेको थियो ।’
आफूले अरु कसैको बाटो छेक्न नभई आफ्नै बाध्यताले टहरा बनाएको उनीहरुको दाबी छ । वडा कार्यालयबाट टहरा भत्काउन ३० गते बेलुका ५ बजे मात्र चिठी आएको र २ गते बिहान ८ः३० बजेतिर डोजर लिएर आएर भत्काएको उनले बताइन् ।
घटना हुँदा रामकुमारीका १९ वर्षीय छोरा सुजन कुमार चौधरी बाहिर थिए । भत्काउन सुरु गरेपछि मात्र उनी त्यहाँ पुगेका थिए । आमालाई प्रहरीले रुखमा च्यापेर घाँटी न्याकेको देखेपछि उनी आमालाई छुटाउन गएका थिए, तर प्रहरीले उनलाई पनि रोकेको थियो ।
सुजनले भने, ‘म आउँदा भत्काउने टाइम भइसकेको थियो । आमालाई त्यसरी पकडाउ गरिराख्दा म छुटाउन जाँदाखेरि प्रहरीहरुले मलाई पनि समातेर राख्नुभयो । मलाई पनि एकदमै घेरेर साइड लाउनुभयो ।’ छोरा सुजनले आर्थिक अभावको पीडा सुनाउँदै भने, ‘मम्मीलाई अहिले पनि सन्चो हुनुहुन्न । तर, उपचारका लागि अस्पताल जाने पैसा छैन ।’ घटनापछि नगरपालिका वा वडाबाट कोही पनि उनीहरुको अवस्था बुझ्न नआएको रामकुमारीले बताइन् । रामकुमारीले सबैसँग न्यायको याचना गरेकी छन् । उनले भनिन्, ‘मलाई न्याय होस् । म गरिबजस्तो मान्छेलाई जसरी त्यसो भयो, त्यसरी अरु कसैलाई नहोस्, म त्यही भन्न चाहन्छु ।’

घटना कस्तो थियो ?
अवैध टहरा भत्काउने क्रममा नगर प्रहरीले चौधरीमाथि गरेको दुव्र्यवहारको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । गएको वैशाख २ गते भएको उक्त घटनाको भिडियो र तस्बिर बाहिरिएपछि नगर प्रहरीले सर्वसाधारणमाथि गरेको बल प्रयोगको सर्वत्र आलोचना भइरहेको छ ।
सामाजिक सञ्जालमा फैलिएको भिडियो र तस्बिरमा देखिएअनुसार पहेँलो रङको डोजर (जेसिबी) ले संरचना भत्काइरहेको पृष्ठभूमिमा दुई जना महिला नगर प्रहरीले एक जना रामकुमारीलाई नियन्त्रणमा लिइरहेका छन् । निलो बर्दी लगाएकी एक महिला नगर प्रहरीले ती महिलालाई एउटा ठूलो रूखको आडमा लगेर थिचेकी छन् र उनको घाँटीमा आफ्ना दुवै हातले अठ्याएकी (न्याकेकी) छन् ।
त्यही बेला हरियो बर्दी र कालो मास्क लगाएकी अर्की महिला प्रहरीले पनि ती महिलाको हात र शरीरलाई समातेकी छन् । महिला निकै अत्तालिएको र उम्किन नसक्ने अवस्थामा पुगेको उनको अनुहारको भावले स्पष्ट पार्छ ।
नगरपालिका र प्रहरीको आ–आफ्नो दाबी
यसरी सार्वजनिक रूपमै अमानवीय ढंगले महिलाको घाँटी निमोठिएको दृश्यले आम नागरिकमा आक्रोश पैदा गरेपछि सुनसरी जिल्ला प्रहरी कार्यालयले वैशाख ६ गते एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तर, प्रहरीले आफ्नो विज्ञप्ति र सार्वजनिक प्रतिक्रियाहरूमा सो घटनामा सुरक्षाकर्मीको कुनै गल्ती नरहेको दाबी गर्दै त्यसलाई ‘भ्रामक सूचना’ को संज्ञा दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हाल विभिन्न सामाजिक सञ्जाल तथा अनलाईन समाचारहरुमा सुनसरी जिल्लाको दुहवी नगरपालिका क्षेत्र भित्र अतिक्रमण गरी बनाएको घर टहराहरु भत्काउने क्रममा नेपाल प्रहरी र नगर प्रहरीहरुले महिला माथि दुव्र्यवहार गरेको भनी प्रसारण भएको फोटो/भिडियो सम्बन्धमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त सन्दर्भमा मिति २०८०/०१/०२ गते जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं. १० स्थितमा रहेको ऐलानी जग्गा अतिक्रमण गरी अवैध रुपमा निर्माण गरिएका घर टहराहरु नगरपालिकाका कर्मचारीहरु, स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा भत्काउने क्रममा प्रयोग गरिएको जेसिबीमा ढुङ्गा मुढा प्रहार गर्ने तथा भत्काईरहेको स्थानमा आक्रोसित भएर जान खोजेकोमा निजलाई हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउनको लागी नगर प्रहरी (महिला) ले निजलाई समाई रोक्ने प्रयास गरेको हो ।’
सामाजिक सञ्जालमा भनिएजस्तो डोरीले रूखमा बाँधेर यातना नदिइएको दाबी गर्दै प्रहरीले भ्रामक सूचना र समाचार प्रकाशनमा नलाग्न आग्रह गरेको छ । ‘समाचारमा उल्लेख भए जसरी निजलाई डोरीले रुखमा बाँधेको जस्तो अमानवीय कार्य नगरेको साथै जेसिबीको अगाडी जाँदा हुन सक्ने सम्भावित दुर्घटना बारे सम्झाई बुझाई गर्ने कार्य सुरक्षार्थमा खटिएका प्रहरी (महिला) ले गरेको हुँदा यस्ता किसिमका भ्रामक समाचारहरु प्रकाशन प्रसारण नगरिदिनहुन सम्बन्धित सम्पूर्णमा अनुरोध गरिएको छ,’ प्रहरीले स्पष्ट पारेको छ ।

यस घटनाको विषयमा स्थानीय प्रहरी अधिकारीहरूले पनि घटनालाई सामान्यीकरण गर्ने र सामाजिक सञ्जालले दुष्प्रचार गरेको आरोप लगाएका छन् । दुहबीका प्रहरी प्रमुख प्रहरी निरीक्षक शिवराम थापाले उक्त घटना दुहवी वडा नम्बर १० को नहरको डिलमा भएको पुष्टि गरे । ‘त्यो घाँटी समातेको हैन । जुन उहाँहरुले ऐलानी जग्गा नगरपालिकाले खाली गराउँदा भएको घटना हो । उहाँहरुको आफ्नो घर छुट्टै छ, त्यहीँ पारिपट्टि । तर उहाँहरुले ऐलानी जग्गालाई पनि टहरो हाल्नुभएको थियो । त्यो टहरो हटाउन खोज्दा जेसिभीलाई ढुङ्गाले हान्न खोजेपछि नगर प्रहरीले नियन्त्रणमा लिएको हो । हाम्रो प्रहरीले गएर यसो गर्नुहुँदैन भनेर सम्झाउन खोजेको मात्र हो, प्रहरीले घाँटी निमोठ्यो भनेर भन्नु चाहिँ भ्रामक कुरा हो । त्यस्तो होइन,’ थापाले भने ।
यो घटनामा प्रहरीलाई नकारात्मक देखाउन खोजेको भन्दै थापाले असन्तुष्टि जनाए । ‘गरेको चाहिँ नगर प्रहरीले हो । हामी त त्यहाँ गएर प्रहरीले हटाउने हामीलाई अधिकारै छैन । स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत सबै अधिकार उनीहरुलाई हो,’ थापाले भने । प्रहरीले दिएको जानकारी अनुसार ती महिला रामकुमारी चौधरी हुन् । उनले ऐलानी जग्गामा टहरो बनाएको प्रहरीको दाबी छ ।
गलत नियतले प्रचार भएको नगर प्रमुखको दाबी
दुहवी नगरपालिकाका प्रमुख वेद गच्छदारले घटनालाई सामाजिक सञ्जालको दुष्प्रचार र गलत नियतले भाइरलत बनाइएको बताए । उनले संरचना हटाउँदाको सामान्य घम्साघम्सी हुँदैमा के के न भएजस्तो गर्नु नहुने बताए । ‘त्यो बाटो क्लियर गर्ने क्रममा तानतान, धकेलाधकेल भएको हो । ठ्याक्कै फोटो चाहिँ खिचेर अनि त्यो फोटोलाई पज गर्ने, भाइरल बनाउने काम भयो,’ उनले भने, ‘त्यहाँ भिड्न गयो, यो ग¥यो भने तानतान गर्दा कुनै बेला घाँटीमा हात लाग्न सक्छ, कुनै बेला खुट्टामा लाग्न सक्छ । कुनै बेला एकदमै जोडले चिथोरेको पनि देख्न सक्छ, त्यो त क्यामेरामा फोटोमा त्यस्तै त हो नि । यसो समातेर राख्यो अनि फोटो खिच्यो, बाप रे बाप ! यसरी समात्यो भनेर भन्छन् ।’
उक्त जग्गा सुकुम्बासीको नभई गलत नियतले बाटो छेक्न बनाइएको संरचना भएको दाबी उनले दाबी गरे । ‘त्यो ऐलानी भन्दा पनि त्यहाँ खाली जग्गा थियो, अर्को व्यक्तिको जग्गा । त्यो व्यक्तिले बारम्बार एक वर्षदेखि त्यसलाई मेरो जग्गा लिन्छु भनेर लेऊ भनेर आग्रह गरेको हो,’ उनले भने, ‘उसले (विजय चौधरी) जग्गा नलिएपछि दीपेन्द्र ऋषिदेव भन्ने युवाले त्यहाँ जमिन किन्यो । त्यो किनिसके पछाडि अर्को पक्ष (विजय चौधरीको परिवार) ले थाहा पायो । अनि राति नै ४ वटा बाँसको खुट्टा, पुरानो टाटीहरू घेरेर अनि माथि एउटा छाप्रो मात्र राखेर, घरमा भएको २/४ वटा पुराना ड्रमहरू राखिदियो । त्यो एउटा गलत नियतले गरेको हो । त्यस्तो गर्नुहुँदैनथ्यो नि । त्यस्तो सुकुम्बासी नै भएको भए त पहिलादेखि नै घर बनाएर बसेको भए हुन्थ्यो नि । त्यही भएर त्यो संरचना हटाउन निवेदन आयो र नगरपालिकाले हटाएको हो ।’
त्यस स्थान वरिपरि ऋषिदेव (मुसहर) हरूको बस्ती छ । भित्र जाने बाटोको मुखमा ४०–५० फिटको बाटो छ । तर बाटो १६–२० फिट मात्र छ, बाँकी खाली हुन्छ । त्यही खुला ठाउँमा विजय चौधरीको परिवारले गरिब मजदुरले किनेको जग्गामा जान नदिन बाटोमै टहरा बनाएको गच्छदारको दाबी छ । ‘त्यो जग्गा किन्ने मुसहर (दीपेन्द्र ऋषिदेव) ले ज्याला मजदुरी गरेर, सधैँभरि सुकुम्बासी नै बस्ने त भनेर दुई–चार पैसा जोडेर जग्गा किन्यो, तर त्यो जग्गा किनेर पनि उपभोग गर्न पाएन । एउटा बाटोमा बनेको त्यस्तो संरचना मैले किन भत्काउन नपाउने ?,’ उनले प्रश्न गरे, ‘२५ वर्ष पहिला त्यो विजय चौधरीले त्यो ठाउँमा जग्गा किनेको थियो, त्यतिखेर २/३ लाखमा पाउँथ्यो । अनि मेरो जग्गासँगै जोडिएको छ, म कसैलाई आउनै दिन्नँ, यो जग्गा पनि मै लिन्छु भनेर सोचेर हुन्छ ? एउटा गरिब सुकुम्बासीले एक कठ्ठा ९ धूर जग्गा किन्दा बाटो छेक्ने ?।’

त्यसक्रममा बाटो बनाउन वडाले माग गरेको र नगरको प्रहरी पठाइदिएको गच्छदारले बताए । ‘त्यहाँ वडाले प्रहरीलाई चिठी लेखेर शान्ति सुरक्षा त चाहिन्छ नै, त्यो गर्दाखेरि त्यस्तो भएको हो,’ उनले भने, ‘अहिले सामाजिक सञ्जालमा यस्तै यस्तै देशैभरिको हालिराखेको छ, हल्ला गरेको छ । हिजो एउटा पक्षले सामाजिक सञ्जाल आफ्नो प्रचारको लागि युज ग¥यो, अहिले अर्को पक्षले त्यही सामाजिक सञ्जाल युज गरेर बदनाम गर्न खोज्दैछ ।’ उनले मिडियाले स्थानीय स्तरमै गएर बुझ्नुपर्ने उनले बताए । ‘वास्तवमा यहाँ घर थियो कि थिएन ? कस्तो थियो ? भनेर सोध्नुभयो भने राम्रो हो । जसले बदमासी गरेको छ, त्यो त छारस्टै हुन्छ नि,’ उनले भने ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।