विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले पछिल्लो समय आकाशिएको महंगी नियन्त्रण गर्न र विद्यार्थी तथा श्रमिकहरूको संवैधानिक अधिकारमाथि हस्तक्षेप नगर्न सरकारसँग माग गरेको छ ।
पार्टीका केन्द्रीय कार्यालय सचिव गणेशमान पुनले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठन लगत्तै बढेको महंगी र कालोबजारीले जनता मारमा परेको उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, “नयाँ सरकार गठन लगत्तै महंगी र कालोबजारी बढेको छ, यसलाई तत्काल नियन्त्रण गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ ।”
विद्यार्थी र ट्रेड युनियनमाथिको प्रतिबन्धप्रति आपत्ति
नेकपाले विद्यार्थी संगठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको प्रयासप्रति गम्भीर आपत्ति जनाएको छ । संविधानको मर्म र भावनाविपरीत यस्तो कदम चाल्न खोजिएको भन्दै पार्टीले यसलाई ‘आपत्तिजनक’ भनेको छ ।
पञ्चायती कालखण्डमा समेत खोसिएको अधिकार लोकतान्त्रिक गणतन्त्रमा खोस्न नमिल्ने विज्ञप्तिमा उल्लेख छ । “संगठित हुन पाउने संवैधानिक अधिकार तथा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि–सम्झौता विपरीत ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासप्रति पार्टी चिन्ता व्यक्त गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।
सुकुम्वासीको उचित व्यवस्थापन गर्न माग
सरकारले सुकुम्वासी परिवारलाई उचित विकल्प नदिई जबरजस्ती उठिबास लगाएको र झुप्राहरू भत्काएकोमा पनि नेकपाले विरोध जनाएको छ । यस प्रकारको अमानवीय कदमले सीमान्तकृत समुदायको राज्यप्रतिको विश्वास कमजोर बनाउने पार्टीको ठहर छ । सुकुम्वासीहरूको समूचित पुनस्र्थापना नगरी उनीहरूलाई नहटाउन सरकारलाई आग्रह गरिएको छ ।
सरकारको कार्यशैलीप्रति प्रश्न
पार्टीले वर्तमान सरकारबाट जनताले सुशासन, सामाजिक न्याय र समृद्धिको ठूलो अपेक्षा गरेको भए पनि सरकारको शासन सञ्चालन प्रक्रिया पूर्वाग्रही र एकपक्षीय देखिएको आरोप लगाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “सरकारलाई अझ लोकतान्त्रिक बन्न, सुकुम्वासी, किसान, मजदुर तथा उपेक्षित समुदायप्रति जिम्मेवार बन्न र सामाजिक न्यायको विषयमा अनावश्यक स्टनबाजी नगर्न आग्रह गर्दछौँ ।”
नेकपाले लोकतन्त्रको सुदृढीकरण अधिकार खोसेर नभई जनताको घरबास जोगाएर र सीमान्तकृत समुदायलाई अधिकार सम्पन्न बनाएर मात्र सम्भव हुने स्पष्ट पारेको छ । सरकारले अघि सारेका वाचा र प्रतिबद्धताका सकारात्मक विषयलाई भने पार्टीले स्वागत गर्ने विज्ञप्तिमा उल्लेख छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।