लोड हुँदैछ...

मेनु

२१ दिनको अस्पताल बसाइपछि एमाले अध्यक्ष ओली डिस्चार्ज

२१ दिनको अस्पताल बसाइपछि एमाले अध्यक्ष ओली डिस्चार्ज

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिन लामो अस्पताल बसाइपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ) बाट डिस्चार्ज भएका छन्। पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको ६ दिनपछि शनिबार साँझ उनी अस्पतालबाट डिस्चार्ज भई भक्तपुरको गुण्डुस्थित आफ्नो निवास फर्किएको उनको सचिवालयले जनाएको छ।

स्मरण रहोस्, ‘जेनजी’ आन्दोलनका घटना सम्बन्धमा गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा अनुसन्धान गर्न भन्दै प्रहरीले उनलाई गत चैत १४ गते पक्राउ गरेको थियो। पक्राउ परेकै दिन स्वास्थ्य जाँचका लागि अस्पताल लगिएका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पतालमै भर्ना भएका थिए। त्यसपछि प्रहरीले उनलाई अस्पतालमै निगरानीमा राखेर अनुसन्धान अघि बढाएको थियो।

हिरासतमा रहेकै बेला पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले परमादेश जारी गरेपछि चैत २६ गते ओली हिरासतमुक्त भएका थिए। प्रहरीले उनलाई अस्पतालमै पत्नी राधिकाको जिम्मा लगाउँदै हाजिरी जमानीमा रिहा गरेको थियो।

कानुनी रूपमा हिरासतमुक्त भए पनि पित्तथैलीमा पत्थरी देखिएका कारण उनले त्यस दिन अस्पतालबाट डिस्चार्ज लिएका थिएनन्। गत चैत ३० गते पत्थरीको शल्यक्रिया सम्पन्न भएपछि थप ६ दिनको स्वास्थ्य लाभ गरी उनी शनिबार घर फर्किएका हुन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।